दिल्लीमा भोग्नु पर्ने नेपालीका समस्याहरु समाधान गर्न स्पेन सरकार तयार,पीडितले प्रमाण पेश गरे क्षतिपूर्ति दिने


बसन्त रानाभाट
बार्सिलोना
स्पेन स्थित नेपाली समुदायले परिबार पुनर्मिलनका क्रममा दिल्लीमा भोग्नु पर्ने समस्याहरु समाधान गर्न स्पेन सरकार तयार भएको छ। फ्रान्स स्थित स्पेनिस दुताबासका राजदुत रामोन दे मिगेलले समस्याहरु भएका नै हुन् भने स्पेन सरकार ठोस रुपमा छानबिन गरी समाधान गर्न तयार रहेको बताएका छन् । नेपाली राजदुताबासका कार्यबाहक राजदुत रामबाबु ढकालले स्पेनबासी नेपाली समुदायका समस्याहरु लिएर मिगेल सँग पेरिसमा गरेको भेट बार्ताका क्रममा उनले यस्तो आश्वासन दिएका हुन्।

परिबार पुनर्मिलनको क्रममा नै दिल्ली स्थित स्पेनिस दुताबासले नाता गोता पहिचानको लागि एजेन्सी मार्फत खटाईएका भारतीय कर्मचारीहरुले नेपाली परिबारमा गई सोधपुछ गर्दै अन्त्यमा कागज पास गराउने भन्दै मोटो रकम असुल्ने गरेको स्पेन आईसकेका नेपालीहरुको गुनासो रहेको छ। कतिपय त घरमा पनि नगई होटलमा नै बसी रकम असुल्ने गरेको पिडितहरुले बताउदै आएका थिए।

बार्सिलोनामा सम्पन्न अन्तरक्रिया पछि समुदायको गुनासो लिएर मैले भेट बार्ता गरेको हु , कार्यबाहक राजदुत ढकालले नेपाली नेपाली डटकमलाई भने “सम्बन्धित पिडित पक्षको ठोस सबुत प्रमाणका साथ पेरिस दुताबासले जानकारी गराएर सत्य साबित भए पिडितलाई क्षति पूर्ति दिन स्पेन सरकार तयार रहेको समेत मिगेलले बताउनु भयो।” ढकालले दिल्ली स्थित स्पेनिस दुताबासमा मेडिकल रिपोर्ट पेश गर्दा नेपालका कुनै पनि प्राईभेट वा सरकारी अस्पतालबाट रिपोर्ट लगे पनि मान्य नहुने र दिल्लीमा नै बनाउनु पर्दा हैरानी बेहोर्नु परेको समस्या बारे पनि अबगत गराएको बताएका छन्। भेटमा उनले स्पेनको राजधानी म्याड्रिडस्थित नेपाली अवैतानिक वाणिज्य दुत भिक्टर गोन्जालेज फ्रागुसको निधन बारे पनि जानकारी गराएका थिए। गोंन्जालेजको निधन सँगै म्याड्रिडबाट हुने कामहरु हालको लागि स्थगित भएका छन्।

एनआरएनए स्पेनको पहलमा बार्सिलोनामा अन्तरक्रिया गरे लगत्तै कार्यबाहक राजदुत ढकालले नेपाली समुदायका समस्याहरु लिएर मिगेल सँग भेटबार्ता गरेका हुन्।