नियुक्ति खारेजीको माग गर्दै पोखरा विश्वविद्यालयमा आमरण अनसन


 

सागर राज तिमिल्सिना

पोखरा/

उपकूलपति डाक्टर विष्णु तिवारीले ऐननियम विपरित गरेका नियुक्तिको खारेजीको माग गर्दै आमरण अनसन शुरु भएको छ । तिवारीले ऐनविपरित विभिन्न नियुक्तिहरु गरेको आरोप लगाउँदै पोखरा विश्वविद्यालयमा प्राध्यापकहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकै क्रममा पोखरा विश्वविद्यालयका सहप्राध्यापक डाक्टर गोविन्द लामिछाने आइतबारदेखि आमरण अनसनमा बसेका छन् ।

‘म मरे पनि पोखरा विश्वविद्यालय बाँचिरहोस्’ भन्ने नारा लेखेर आमरण अनसन शुरु गरेका डा. लामिछाने पोखरा विश्वविद्यालय स्कूल अफि इञ्जिनियरिंगका कार्यवाहक निर्देशक तथा नेपाल राष्ट्रिय प्राध्यापक संगठन पोखरा विश्वविद्यालयका अध्यक्ष पनि हुन् । पोखरा विश्व विद्यालयका उपकुलपति सहित २४ जनालाई भ्रष्टाचारको अभियोग लागेपछि त्यहाँ कार्यरत उपकुलपति सहितका पदाधिकारीहरु निलम्बनमा परेका थिए ।

उनीहरु निलम्बित भए पछि रिक्त पदमा गरिएको नियुक्तीका विरुद्धमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल प्रगतिशील प्राध्यापक संगठनल प्राध्यापक र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । नियुक्तिहरु खारेज हुनुपर्ने, करार सेवामा कार्यरत प्राध्यापकहरुको सेवा सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने माग गर्दै आमरण अनसन बसेको लामिछानले बताए । विश्वविद्यालयमा कार्तिक २१ गतेबाट प्राध्यापकहरुले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनकै क्रममा मंसिर २६ गतेबाट रिले अनसन बसेका उनीहरुले आइतबारबाट आमरण अनसन शुरु गरेका हुन । नियुक्ति गर्दा वरिष्ठताका आधारमा गरिनुपर्ने आन्दोलनरत प्राध्यापकहरुको माग रहेको छ ।