बौद्ध दर्शनले विश्वलाई शान्तिमा लाग्न प्रेरित गर्छःराष्ट्रपति डा. यादव


बुटवल/अन्तराष्ट्रिय बौद्ध सम्मेलन बुद्ध जन्म स्थल लुम्बिनीमा सुरु भएको छ । सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले शनिबार एक समारोहका विच उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै राष्ट्रपति डा. यादवले बुद्ध धर्मलाई दर्शनका रूपमा व्यक्तिगत जीवनमा आत्मसात् गरेर विश्वव्यापी रूपमा फैलाउनुपर्ने बताएका छन् ।
राष्ट्रपति डा यादवले बौद्ध एउटा धर्ममात्र नभई यो महत्वपूर्ण दर्शन पनि भएको चर्चा गरे । उनले शान्तिका लागि बौद्ध दर्शनको विश्वव्यापी प्रचारप्रसारले विश्वलाई नै शान्तिको दिशामा लाग्न प्रेरित गर्ने बताए । राष्ट्रपति डा यादवले प्रविधिको विकाससँगै विश्वमा अशान्ति र ध्वङ्समा परिणत हुनु दुःखको विषय भएको बताउँदै प्रविधिलाई सकारात्मक रूपले सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
उनले सम्मेलन बुद्ध दर्शन र लुम्बिनीको प्रचारप्रसारमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । राष्ट्रपति डा यादवले नेपाल हिंसा र हतियारको राजनीतिबाट शान्तिको मार्गमा उन्मुख भइरहेको उल्लेख गर्दै नेपालको राजनीतिक परिवर्तनबाट विश्वले पाठ सिक्ने धारणा राखे ।
उनले लुम्बिनीसँगै यससँग सम्बन्धित बौद्ध क्षेत्रको विश्वव्यापी प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औल्याए । डा यादवले राजनीतिक दललाई तीन करोड जनताको चाहनाअनुरूप समयमै संविधान निर्माण गर्न आग्रह गरे । उनले जनतालाई केन्द्रमा राखेर दलहरूले संविधान दिनुपर्छ, समयमै संविधान आओस् भनेर म भगवान् गौतम बुद्धसँंग प्रार्थना गर्दछु भने ।
सो अवसरमा उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन लुम्बिनीमा आयोजना गरेर लुम्बिनी बारेमा प्रचारप्रसार गर्न सहयोग पुगेको बताए ।
पर्यटन तथा नागरिक उडडयन र संस्कृति मन्त्री दीपकचन्द्र अमात्यले नेपाल सांस्कृतिक रूपमा धनी भए पनि प्रचारप्रसारको अभावमा पर्याप्त उपलब्धि हुन नसकेको धारणा राखे ।