मोदीलाई पोखरा भ्रमण गराउन पोखरेली टोली काठमाडौमा


पोखरा /
सार्क सम्मेलनमा लागि नेपाल आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगेर पोखरा हुँदै लुम्बिनी जाने तय भएको छ । मुक्तिनाथबाट लुम्बिनी जाने मोदी सवार हेलिकोप्टर इन्धन भर्नका लागि पोखरा बस्नेछ । त्यसबेला मोदीलाई पोखरमा पनि केही कार्यक्रममा सहभागी हुन अनुरोध गर्न पोखरेली टोली काठमाडौं गएको छ ।

राजनैतिक दलसमेत दर्जन बढी बिभिन्न संघ संस्थाले भारतस्थित प्रधानमन्त्री कार्यालयमा मोदीलाई पोखरा भ्रमणको लिखित निम्तो पठाएका छन् । त्यसैगरी भ्रमणको व्यवस्थापन गरिदिन सरकारको परराष्ट्र, गृह मन्त्रालय एवं काठमाण्डौंस्थित भारतीय दुताबासलाई पनि अनुरोध गरिएको छ ।

काठमाण्डौंबाट उडेर मुक्तिनाथ पुगेको हेलिकोप्टर इन्धन थप गर्न पोखरा विमानस्थलमा अवतरण गर्ने कार्यको तयारी भने सरकारले गरेको छ । सार्क सम्मेलनको सुरक्षार्थ बनेको एकीकृत सुरक्षा निकायका उच्च पदाधिकारी एवं भारतीय सुरक्षाकर्मीसमेतले पोखराको सुरक्षा अवस्था अध्ययन गरिसकेको छ । सुरक्षाको एक टोलीले बुधवार पनि मुक्तिनाथ, पोखरा, लुम्बिनीको रेकीु गरेको थियो ।

मोदी पोखरा विमानस्थल र सेनाको पश्चिम पृतना ब्यारेक मध्ये एक ठाउँ बस्ने वा कुनै कार्यक्रम बनाएर अन्यत्रै बस्ने भन्ने तय भइसकेको छैन ।