पोखरा विश्वविद्यालयका नवनियुक्त भिसीको विरोध


 

सागर राज तिमिल्सिना
पोखरा, २७ कार्तिक/पोखरा विश्वविद्यालयका नवनियुक्त भिसी विष्णुराज तिवारीले रजिस्ट्रार लगायत पदाधिकारीमा गरेको नियुक्तिलाई एमओवादी र नेकपा—माओवादी समर्थित प्राध्यापकहरुले नियमविपरीत भन्दै विरोध गरेका छन् । विरोधमा बुधबारदेखि रिले अनसन थालेका छन् ।

भ्रष्टाचार आरोपमा उपकुलपतिसहित, पदाधिकारी र प्रशासक गरी २४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएपछि अन्योल बनेको पोखरा विश्वविद्यालयमा नयाँ उपकुलपति आए पनि समस्या समाधान भएको छैन । रिक्त उपकुलपति पदमा वरिष्ठताको आधारमा कुलपति तथा प्रधानमन्त्री सुशील कोइरालाले कात्तिक १८ गते विष्णुराज तिवारीलाई उपकुलपति (भिसी) नियुक्त गरेका थिए ।

भिसी, रजिस्ट्रार लगायतलाई अख्तियारले पक्रेर उनीहरु स्वतह निलम्बनमा परेपछि विश्वविद्यालय ऐनअनुसार प्रधानमन्त्रीले वरिष्ठताका आधारमा तिवारीलाई नियुक्त गरेका थिए । उनको नियुक्तिमा विवाद थिएन । तर तिवारीले गरेको रजिस्टार, डिन र परीक्षा नियन्त्रकको नियुक्ति विवादमा परेको हो ।

पोखरा विश्वविद्यालय ऐन २०५३ अनुसार रिक्त पदमा कुनै वरिष्ठ प्राध्यापकलाई नियुक्त गर्ने व्यवस्था गरेको छ । आन्दोलन गरेका कारण विश्वविद्यालयका थुप्रै कक्षामा पढाइ हुन पाएको छैन । भिसी, रजिस्टार, परीक्षा नियन्त्रक लगायतलाई अख्तियारले कात्तिक ११ गते प्रक्राउ गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयका पदाधिकारीविरुद्ध कात्तिक ११ गते विशेष अदालत काठमाडौंमा मुद्दा हाल्दा कलेजहरुलाई जथाभावी सम्बन्धन बाँडेको, गैरकानुनी रुपमा चन्दा वितरणगरेको कर्मचारीलाई नियम विपरीत आर्थिक सुविधा दिएको र परामर्श सेवाको भुक्तानीमा अनियमितता गरेको, सवारी साधान हुँदाहुँदै नियम विपरीत ट्याक्सी भाडामा लिएको लगायत आरोप लगाएको छ ।