फोहोर नउठ्उने समस्या,पोखरामा सर्वसाधारणको गुनासो


पोखरा /
फोहोर उठाउने गाडी समयमा नआउदा फोहोर फाल्न समस्या हुने गरेको गुनासो सर्वसाधारणले गरेका छन् । पोखरा उपमहानगरपालिका कार्यालयको आयोजना र रेडियो जननी ९०.६ को सहजीकरणमा बुधबार मालेपाटनमा आयोजित प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सहभागी सर्वसाधारणले नगरपालिकाको फोहोर उठाउने गाडी समयमा नआउने, मालेपाटन क्षेत्र स्थित सेती नहरमा स्ल्याब नराख्दा फोहोर बढेको, छाडा चौपाया तथा भुस्याहा कुकुरको व्यवस्थापनको समस्या र खाली जग्गामा जथाभावी फोहोर फाल्ने प्रवृतिले गर्दा फोहोरमैला व्यवस्थापन हुन नसकेको गुनासो गरेका हुन् ।

त्यस्तै फिर्के खोलामा फोहोर बढेको, जिरो देखि विन्दवासीनी सम्म ६ लेनको सडक बनाउने कार्य अवरुद्ध बनेको, सडकमै जथाभावी फोहोर थुपार्ने समस्या बढेको, सडक बत्तीको अभाव भएको गुनासो आएका थिए । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्रीले फोहोरमैला कर सबै नगरवासीले तिरे पनि नगरपालिकाले मुख्य बजार क्षेत्रमा मात्रै कर्मचारी लगाएर फोहोर उठाउने गरेको गुनासो गर्दै सबै क्षेत्रमा फोहोर संकलन गर्नु पर्ने बताउनु भयो । फोहोरमैला व्यवस्थापनका लागि त्यस सम्बन्धी तालिम दिनु पर्ने, टोल सरसफाई कार्यक्रमलाई नियमित गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शारदा मोहन काफ्ले ले मालेपाटन क्षेत्रमा घर निर्माणको क्रममा तीवं्र रुपले बढेकाले यस क्षेत्रमा फोहोरमैलाको उचित व्यवस्थापन समस्या बन्दै गएको बताउनु भयो । सेती नहरमा फोहोर व्यवस्थापन गर्न स्ल्याब राख्नका लागि २५ लाख बजेट विनियोजन गरिएको जानकारी दिँदै उँहाले तत्काल निर्माण कार्य अगाडि बढाउने बताउनु भयो ।

प्रशासन विभाग प्रमुख तथा आलेप अधिकृत अनन्त प्रसाद कोइरालाले सार्वजनिक रुपमा फोहोर गर्ने जो कोहिलाई पनि कडा भन्दा कडा कारवाही गरिने प्रतिबद्धता जाहेर गर्दे आगामि दिनमा नागरिकले फोहरमैला व्यवस्थापनमा भोगेका समस्यालाई समयमा खबर गरिदिन आग्रह समेत गर्नुभयो । यस्तै पोखरा उपमहागरपालिकाका शाखा अधिकृत एवम् सरसफाई प्रमुख चुडामणी तिवारीले फोहोर संकलनका लागि हप्तै पिछे सरसफाई अभियान सञ्चालन गर्ने सके फोहोर व्यवस्थापन सहज हुने बताउदै जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई रोक्न टोलटोलमा निगरानी समूह गठन गरिने कामलाई अगाडि बढाउने बताउनु भयो ।