नेवि संघको महाधिवेशन सातौं पटक स्थगित


 

काठमाडौ/सार्क सम्मेलनको कारण तयारी नपुग्ने भन्दै कांग्रेस पदाधिकारी बैठकले नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले कांत्तिक ३० देखि मंसिर २ सम्म हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

नेवि संघको महाधिवेशन स्थगित भएको ७ औं पटक हो । यसअघि भदौं अन्तिम साता हुने भनिएको महाधिवेशन प्रतिनिधि विवादका कारण स्थगित भएको थियो । कांग्रेसका धेरै नेता सरकारका सामेल भएको र सार्क सम्मेलनको कारण तयारी नपुग्ने भन्दै महाधिवेशन स्थगित भएको नेवि संघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

संघको महाधिवेशन २०६३ सालदेखि हुन सकेको छैन् । नेवि संघ अध्यक्षको लागि ५ जनाले उम्मेदवारी घोषणा गरेका थिए । जितजंग बस्नेत, नैनसिंह महर, कुन्दन काफ्ले, मनोजमणि आचार्य र केदार कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूले सम्पर्क कार्यालयसमेत खाेलेर प्रचारलाई तीब्रता दिइसकेका छन् । काफ्ले, आचार्य र कार्की पार्टी संस्थापन पक्षका नजिक छन् भने बस्नेत र महर नेता देउवासँग नजिक छन् ।

संस्थापन र देउवा गुटले आफ्नो पक्षबाट एक एक उम्मेदवार मात्रै उठाउन खोजे पनि विवाद उब्जिदै आएको थियो ।-ekantipur