साझा प्रस्तावमा सहमति जनाउन कांग्रेस एमालेको आग्रह


काठमाडौं/
सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले आफूहरूले प्रस्तुत गरेको साझा प्रस्तावमा सहमति जनाउन प्रतिपक्षी एमाओवादी र अन्य दललाई फेरि आग्रह गरेका छन् ।

सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले आफूहरूले प्रस्तुत गरेको साझा प्रस्तावमा सहमति जनाउन प्रतिपक्षी एमाओवादी र अन्य दललाई फेरि आग्रह गरेका छन् ।

सिंहदरबारस्थित ती दलका संसदीय दलको कार्यालयमा  भएको अलग अलग अनौपचारिक बैठकमा नयाँ संविधानका लागि आफूहरूले प्रस्तुत गरेको प्रस्ताव नै उपयुक्त हुनेमा जोड दिइएको हो ।

काँग्रेस एमालेले नयाँ संविधानकामा सहमति हुन बाँकी विवादित विषयमा संयुक्त धारणा प्रस्तुत गरेपछि संवाद समिति अनिर्णित भएकाले आन्तरिक रणनीति तय गर्न ती दलका सभासद्बीच छलफल भएको थियो ।

काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको उपस्थितिमा पार्टीका सभासद्सँगको छलफलमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई लामो समय अन्योलमा नराख्न र सकेसम्म सहमति र त्यसो हुन नसकेमा प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिइएको काँग्रेसका आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए । उनले एमाओवादीका अध्यक्षले बाहिर जस्तो अभिव्यक्ति दिए पनि अन्तिम घडीमा सहमतिमा आउने विश्वास व्यक्त गरे ।

यसैबीच संवाद समितिका सदस्य एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारीको अनौपचारिक बैठकले पनि काँग्रेस र एमालेबीचको सहमतिको प्रस्ताव सान्दर्भिक भएको ठहर गर्दै त्यसमै सहमतिका लागि पहल गर्ने तय गरेको छ । सभासद् डा राजन भट्टराईले सहमति हुन नसकेमा प्रक्रियाबाट जानुपर्नेमा पनि जोड दिइएको जानकारी दिए ।

संविधानसभाले कात्तिक १५ गतेभित्र सहमति वा असहमतिसहितको प्रतिवेदन बुझाउन समय दिए पनि अहिलेसम्म संवाद समितिले कुनै निर्णय लिन सकेको छैन ।