मेस्सीको अधिपत्य तोड्दै ला लिगामा रोनाल्डोलाई अवार्डको ह्याट्रिक


म्याड्रिड/ रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगाको वार्षिक पुरस्कार समारोहमा लिगको सर्वोत्कृष्ट खेलाडीसहित तीनवटा उपाधि हात पारेका छन् ।

२९ वर्षीय रोनाल्डोले बार्सिलोनाका लियोनेल मेस्सीलाई पछि पार्दै लिगको सर्वोत्कृष्ट खेलाडी बनेको यो पहिलो अवसर हो ।

सन् २००८–०९ सिजन देखि शुरु भएको यो पुरस्कार वितरण समारोहको पाँचै संस्करणमा मेस्सी नै सर्वोत्कृष्ट खेलाडी छनौट हुँदै आइरहेका थिए ।

रोनाल्डोले लिगको सर्वोत्कृष्ट स्ट्राइकर र सर्वोत्कृष्ट गोलको उपाधि पनि हात पारे । भ्यालेन्सियाविरुद्धको ब्याक हिल गोलको लागि उनलाई यो उपाधि दिइएको हो ।

सन् २०१३–१४ को सिजनमा रोनाल्डोले ३१ गोल गर्दै लिगको सर्वाधिक गोल कर्ता बनेका थिए । यद्यपि, लिग उपाधि भने एथ्लेटिको म्याड्रिडले जितेको थियो ।
पुरस्कार पछि ट्वीट गर्दै रोनाल्डोले आफू निकै खुसी र गर्व महसुस गरिरहेको बताएका थिए ।

रियल म्याड्रिडकै सर्जियो रामोस उत्कृष्ट डिफेन्डर तथा लुका मोड्रिच उत्कृष्ट डिफेन्सिभ मिडफिल्डर घोषित भएका थिए । -ratopati