टमाटरको मूल्य १० वर्षकै उच्च


 

धरान/
टमाटरको मूल्य आकासिएको छ। एकसाता अघिदेखि टमाटरको मूल्य आकासिने क्रम जारी छ। जसबाट उपभोक्ताहरु आक्रान्त छन् भने व्यवसायीहरु मालामाल बनिरहेका छन्।

सब्जीमा प्रयोग हुने टमाटरको थोक बजार मूल्य ६० रुपैया माथि कटेको छ भने खुद्रा बजारमा ७० देखि ८० रुपैयासम्म प्रतिकिलो बिक्री भइरहेको छ। यो झण्डै १० वर्षकै उच्च मूल्य रहेको कृषि उपज बजार स्थल धरानले बताएको छ। २०६१ सालदेखि आधिकारिक रुपमा तथ्यांक राख्न थालेको कृषि उपज बजारमा टमाटरको थोक मूल्य प्रतिकेजीमा ४० रुपैया भन्दा माथि कटेको तथ्यांक छैन्।

गतवर्ष थोक मूल्य प्रतिकेजी ५५ रुपैया नजिक पुगेको टमाटर यसवर्ष ह्वात्तै बढ्दा त्यसको फाइदा व्यापारीहरुले लिने गरेको छन्। तर, कृषकहरु भने त्यो फाइदा लिनबाट बन्चित बनेका छन्। धनकुटा र तेह्रथुमबाट आउने टमाटरको खपत स्थानीय बजारमा १५ प्रतिशत मात्रै हो भने इटहरीदेखि पूर्वको झापा, र पश्चिमका क्षेत्रहरुमा बढी खपत हुने गरेको छ। विशेष गरेर धनकुटाको गुठिटारबाट धरान निकासी हुने गरेको छ।

‘हाम्रो स्थानीय बजारमा खासै खपत हुन्न, बढी भन्दा बढी बाहिरको बजारमै खपत हुन्छ।’ कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराई भन्छन्। उनका अनुसार २०६९/०७० मा ९ हजार ४० मेटि्रक टन कारोबार भएको थियो भने यसवर्ष ४ हजार १ सय ५ मेटि्रक टन कारोबार भइसकेको छ। हरेक वर्ष असारदेखि माघसम्मको बिक्री हुने कारोबार हो यो।

थोक व्यापारी एवं कृषि उपज बजार स्थलका अध्यक्ष काजी गिरीले कच्चा बस्तु भएकाले पनि भाउँका एक रुपता नहुने बताए। उनले बजार स्थलमा मात्रै मूल्यमा एकरुपता भएको बताए। ‘धरानकै अन्य बजारमा मूल्य एकरुपता पाइदैन’ उनले भने। उनका अनुसार यसवर्ष ४० प्रतिशत नै उत्पादन कम भएकाले पनि बजार मूल्य बढेको बताए।

थोक मूल्य ६० देखि ६२ रुपैयासम्म बिक्री भइरहेको बताउँदै बजारमा ७० रुपैयासम्म खुद्रा मूल्य हुनु ठिकै भएको बताउँछन्। तर, बढीमा बिक्री हुनु गलत भएको बताउँछन्। ‘बजार अनुगमनको कमी हो।, उनले भने ‘बजार स्थलले बाहिरको मूल्य एकरुपता गर्ने अधिकार छैन्।’- setopati