युरोपका कलाकारहरुले बार्सिलोना तताए,दर्शकको मुखमा वान्स मोर नै झुण्डियो


बसन्त रानाभाट
बार्सिलोना
जर्मनी,नेदरल्याण्ड,डेनमार्क,ईटली र स्पेनका कलाकारहरुको सांगीतिक प्रस्तुतिलाई बार्सिलोना बासी संगीत पारखीहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन्। विदेशमा छरिएर रहेका यी कलाकारहरुले एउटै मन्चमा आफ्नो कला प्रस्तुत गर्दा मन जित्न सफल भएका हुन्। स्पेनमा नेपालीहरुले गर्दै आएका कार्यक्रम मध्येको एक सफल कार्यक्रम बनेको  दर्शकहरुले प्रतिक्रिया दिएका छन्।

कुसुमे रुमाल,रेशम फिरिरी,लहनाले जुरायो कि जस्ता नेपाली जनजिब्रोमा झुन्डिएका गीतहरु गाउदा डेनमार्कबाट आएका गायक राजमान तामाङ्गले दर्शकको रोजाईमा पुन: दोहो-राएर गाउनु पर्यो। गायनले मात्र नभई जर्मनीबाट आएकी कलाकार आश्मा कडेलले “मलाई पुगेन पुगेन यो बैशले” बोलको गितमा नृत्य गर्दा दर्शक दीर्घामा कोलाहल मच्चियो। दर्शकले हुटिंग गर्दै “वोन्स मोर वोन्स मोर” भने पछि कडेलले पनि पुन दोहोराएर नृत्य गरिन्।

10749510_857640400936788_1009855898_n

ईनास ब्याण्डले गरेको लाईभ प्रस्तुतिलाई पनि कम आक्न मिल्दैन। स्थानीय रुपमा नै ड्रम,गितार लगायत म्युजिकल सामग्री जुटाएर लाईभ प्रस्तुति गर्दा कलाकारहरुको निकै मिहिनेत देखिन्थ्यो। तुलसी शिवाकोटी, पुरुषोत्तम भट्टराई सुरज मैनाली,भरतराज न्यौपाने बिष्णु रानाभाट,प्रशान्त बानिया लगायतका कलाकारहरुले लाईभ म्युजिकको साथ प्रस्तुति राख्दा दर्शकको मन जिते । अनिनास सिंह, संजय बिक्रम शाह,अभिषेक जंग राणा र बिपिन गुरुङ ड्रम र गितारमा थिए। लाईभ प्रस्तुतिमा गैरी खेतको सिरै हान्यो,चरी मर्यो सिसैको गोलीले,परेलीमा लुकाई राख न बोलका गीतहरु घन्कदा सबै दर्शक दिर्घामा हौसिएर नाचे। कार्यक्रममा डेनमार्कका प्रशान्त राज बानिया, दुर्गा बराईली(जर्मनी), नेदरल्याण्डबाट सरिता हुमागाई र ईटलीका राधी क्षेत्री,प्रविन पौडेल लगायतका कलाकारहरुको प्रस्तुति राखेका थिए।

10265580_879610495391696_9016689031404039023_o

नेपालीहरुको महान पर्व शुभ दिपावलीको उपलक्ष्यमा बार्सिलोनामा सम्पन्न गरेको समाजको कार्यक्रमलाई स्थानीय कलाकारहरु तथा संघसस्थाहरुले पनि सहयोग गरेका थिए। कलाकार मन्च स्पैनकी सुमी घिमिरे,तमु समाजबाट दिपा गुरुङ र नेवारी समाजको तर्फ बाट नुरीया अवाले श्रेष्ठले प्रस्तुतिहरु राखे। सुबास बहादुर बिष्टले संचालन गरेको कार्यक्रम बालबालिकाहरुले गाएको रास्ट्रिय गानबाट शुरु हुदै नेपाली समुदायमा परिचित कलाकारहरु सुस्मिता गिरी,दिव्या भण्डारी र सोनिया केसीको देउसी नृत्यमा आएर टुंगिएको थियो।  पूर्ण रुपमा सफल मानिएको कार्यक्रममा लोक तथा दोहोरीका सामाग्रीलाई पनि केहि बढी समेट्न सकेको भए अझ उत्कृस्ट हुने केहि दर्शकहरुले प्रतिक्रिया दिए।

समाजका कार्यबाहक अध्यक्ष भरतराज न्यौपानेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै प्रति धन्यबाद ब्यक्त गरेका छन्। कार्यक्रममा प्रमुख अतिथि अन्तरास्ट्रिय कलाकार समाज जर्मनीका उपाध्यक्ष सरोज श्रेष्ठ, गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितका सदस्य दिपक खरेल , रास्ट्रिय समन्वय समित स्पेनका अध्यक्ष एक राज गिरी लगायत स्पेन स्थित संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

प्राय स्पेनमा हुने कार्यक्रमहरु आयोजकको कारण ढिलो हुने गरेता पनि,उक्त कार्यक्रम भने दर्शकहरु समयमा नगई दिदा केहि समय ढिलो गरि शुरु भएको थियो। सास्कृतिक कार्यक्रम गर्दा प्राबिधिक गढबढ नभए, भाषण कम भए दर्शकहरुले रुचाउने र सफल पनि हुन्छ भन्ने सन्देश दिन सफल भएको छ ।