अष्ट्रेलियामा मृत मुटु प्रत्यारोपण गरेर नेपाली डाक्टरको ऐतिहासिक सफलता


सिड्नी /अष्ट्रेलियामा कार्यरत एक नेपाली चिकित्सकले चिकित्सा बिज्ञान क्षेत्रमा ऐतिहासिक सफलता हात पारेका छन् । नेपाली चिकित्सक डा. कुमुद धितालले मृत्यु भइसकेका तीन जनाको मुटु बिरामीमा प्रत्यारोपण गरेर सफलता पाएका छन् ।

अहिलेसम्म ‘ब्रेन डेथ’ अर्थात दिमाग मरिसकेको तर मुटु भने चलिरहेको अबस्थाका मुटु मात्र प्रत्यारोपण गर्न सकिन्थ्यो । तर, धितालले चल्न छाडिसकेका तीनवटा मुटु प्रत्यारोपण गरेर चिकित्सा बिज्ञान क्षेत्रमा नयाँ आयाम थपिदिएका छन् ।
सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालले धितालको यो सफलताबारे शुक्रबार जानकारी दिएको त्यहाँबाट प्रकाशित सिड्नी मर्निङ हेराल्डले जनाएको छ । उनले आधा घण्टा पहिले चल्न बन्द भइसकेका मुटुलाई प्रत्यारोपण गरी सफलता पाएका छन् । यसरी मरिसकेका मुटुलाई पुर्नजिवित गरी प्रत्यारोपण गरिएका दुई बिरामीलाई संचारकर्मीसामु प्रस्तुत गरिएको थियो ।

धितालको टोलीले लामो समयदेखि यसरी मृत मुटुलाई पुर्नजीवन दिएर प्रत्यारोपण गर्नेबारे अनुसन्धान गरिरहेको थियो । सो अस्पतालको मुटु प्रत्यारोपण युनिटका प्रमुख प्रोफेसर पिटर म्याकडोनाल्डले यो सफलताले मुटु रोगको उपचारमा ठूलो उपलब्धी हुने बताए । मुटु दान गर्ने ब्यक्तिको अभाव हुने अबस्थामा अब दुर्घटनाबाट मृत्यु हुने ब्यक्तिको मुटु पनि बिरामीमा प्रत्यारोपण गर्न सकिने बाटो खुलेको उनले बताए ।
धिताल त्यहाँ एसोसिएट प्रोफेसरका रुपमा कार्यरत छन् ।-onlinekhabar