सिजनको पहिलो एल क्लासिको आज विश्वभरबाट ५० करोडले हेर्ने अनुमान


म्याड्रिड,/  रियल म्याड्रिडविरुद्ध बार्सिलोना कहिले पनि साधारण फुटबल खेल हुँदैन । विश्वकै ध्यान खिच्ने यी दुई महारथीको भिडन्त आज रियलको गृह मैदान स्यान्टियागो बर्नेबाउमा हुँदैछ । यो सिजनको पहिलो एल क्लासिको हो ।
उरुग्वेका स्ट्राइकर लुइस सुवारेज आफ्ना प्रतिद्वन्द्वीलाई टोकेबापत पाएको प्रतिबन्ध सक्दै बार्सिलोनाका लागि पहिलो प्रतिस्पर्धात्मक खेल खेल्दै छन् । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै गोल गर्ने रेकर्ड तोड्ने ताकमा छन् भने बार्सिलोनाका गोलकिपर क्लाउडियो ब्राभो पनि आफ्नै रेकर्ड बनाउन खोज्नेछन् । उनले यस सिजन एक पनि गोल खाएका छैनन् । आजको खेलमा पनि उनले गोल नखाए नयाँ रेकर्ड बन्ने छ ।

शनिबार हुने क्लासिको दुवै टोली बीचको २२९ औं भिडन्त हो । यसमा रियलले ९१–८९ को झिनो अग्रता कायम राखेको छ । दुई बीच भएका ४८ खेल बराबरीमा सकिएको छ । पछिल्लो समय भने बार्सिलोनाले रियलमाथि दबदबा कायम राख्दै आएको छ । पछिल्ला १२ खेलमा बार्सिलोनाले ८ खेलमा रियलमाथि जीत हासिल गरेको छ ।
६३९ मिलियन पाउण्डको खेल
दुवै टोलीले ठूलो धन राशी खर्च गरेर आफ्नो टोली निर्माण गरेका छन् । रोनाल्डो, हेम्स रोड्रिगेज, नेयमार, सुवारेज सबैलाई भित्र्याउन दुवै क्लबले ठूलो रकम तिरेका छन् । आज हुने खेलमा दुवै टोलीको खेलाडीहरुको मूल्य जोड्दा ६३९ मिलियन पाउण्ड हुन्छ । आज रियलका गेराथ बेल भने खेल्ने छैनन् । रियलको पूरै टोलीको लागत ४४६ मिलियन पाउण्ड रहेको छ भने बार्सिलोनाको पूरै टोली २७८ मिलियन पाउण्डको रहेको छ ।
५० करोडले हेर्नछन् यो खेल
आजका खेललाई विश्वभरबाट ४० देखि ५० करोडले हेर्ने अनुमान गरिएको छ । अझै धेरै दर्शक तान्नका लागि खेललाई अझ चाँडो खेलाइँदैछ ।
रेकर्ड तोड्न आजको खेल
लियोनेल मेस्सी ला लिगाको अहिलेसम्मको सार्वधिक गोलकर्ता बन्न एक गोल मात्र पछि छन् । उनको लिगमा २५० गोल रहेको छ । टेल्मो जाराको रेकर्डबाट उनी एक गोल मात्र पछि छन् । उता रोनाल्डो पनि ला लिगा सर्वाधिक ह्याट्रिक गर्ने एक्लो खेलाडी बन्ने ताकमा छन् । उनी अहिले जारा र डि स्टेफानोसँगै २२ ह्याट्रिक गरेका छन् ।
-ratopati