उनीहरु अलिअलि सास फेर्दै थिए यत्तिकै छाडेर ओरालो लाग्यौ- हिम पहिरोका घाईतेहरु


 

पोखरा/धवलागिरी फेरो सकेर मुुस्ताङ हुँदै उपल्लो डोल्पा भएर पुन उपल्लो मुस्ताङ निस्कने क्रममा २४ घण्टासम्म हिउँले घेरिएका एक विदेशी र तीन स्वदेशी पोखरा आएका छन् । स्विजरल्याण्डका अल्फ्रेड लर्च (Alfred Lerch) सहित रसुवा राम्चेका सेते तामाङ, राम्चेकै सेमनोर्वु तामाङ, र धादिङ कटुन्जेका कुमार तामाङ, मात्र फर्केका छन् ।

धवलागिरी फेरो सकेर मुुस्ताङ हुँदै उपल्लो डोल्पा भएर पुन उपल्लो मुस्ताङ निस्कने गरि ३५ दिने पदयात्रामा निस्केका लर्च सहित ३ विदेशी र उनीहरुका १३ जना सहयोगी गरि १६ जना गत मंगलबार बेलुकी भिषण हिमपातको चपेटामा परेका थिए । ती मध्ये लर्च र तीन स्वदेशी गरि ४ जनामात्र जिवित फर्किएका छन् । सुतेको अवस्थामा हिउँमा पुरिएर बेपत्ता भएका अरु सबै १२ जना बेखबर छन् । पदयात्राका लागि पोखराबाट हिडेर धवलागिरी फेरो सकेर २१ औं दिनमा उनीहरु मुस्ताङ–डोल्पा पदमार्गको छर्कापास (५१००मि) पुगेका थिए । त्यहि नै उनीहरु हिमपात र हावाहुरीको चपेटमा परेका थिए ।

२४ घण्टासम्म हिउँको गुफामा बसेर बचेको उनीहरुले बताए । ‘छर्कापास पुग्दा बेलुकी हुन लागेको थियो । हिउँ परेकोले टेण्ट टाँगेर खोलाछेउँमा बास बस्यौ । राती एक्कासी गड्यांङ गर्दै हिमपहिरो आयो । अनि टेण्ट पु¥यो’ फर्केका मध्ये सेतेले भने । हिउ थामिएपछि बल्ल कपेराभित्रबाट हिउँ कोपर्दै हात बाहिर निस्किएको उनले बताए ।

himpate-mustang

टेण्टमा रहेका साथीहरुमध्ये ८ जना बेपत्ता थिए । एक समुहमा रहेका चारजना भने अलिअलि सास फेर्दै थिए । उनीहरुलाई बोकेर हिड्न सक्ने अवस्था रहेन । अनि आफ्नो ज्यान जोगाउनका लागि यत्तिकै छाडेर खोलैखोल ओरालो लाग्यौ’ अर्का कुमार तामाङले भने, ‘२४ घण्टासम्म पहरोको कपेरामा ढाकिएर बस्नुप¥यो । पहरो नभएको भए हाम्रो ईहलिला उत्ति नै बेला सकिन्थ्यो । धन्न पहिरोले उछिट्याएछ । बच्न लेखेको रहेछ ।’

उपल्लो मुुस्ताङ जाँदै गर्दा अप्ठेरोमा परेका अन्य ५ जना भेटेपछि बल्ल सास पलाएको उनीहरुले बताए । ‘पुरिएको ठाउँबाट हिडेको रात त एउटा स्लिपिङ ब्यागमा चारजना कोचिएर बस्यौ । भोलिपल्ट ३ नेपाली र २ विदेशी ५ जना भेटेपछि अलि राहत पलायो’ उनले भने । ‘बाटोमा भेटिएका पाँचजनालाई उद्धार गर्न हेलिकोप्टर जाँदै रहेछ । त्यसैमा मिसिएर आज पोखरा आयौ’ अर्का घाईते सोमनोर्वु तामाङले भने । घाईते अवस्थामा रहेका उनीहरुको हातखुट्टाका औला हिउँले खाएको छ ।