उनले लडेको जनयुद्ध


– नारायण भुसाल
उनका आँखाभरी आँसु थिए । उनी रुदै सारा घटनाक्रमहरु बताउदै थिईन । हामी पनि एक आज्ञाकारी बालकले आफ्नी आमाले भनेको कथा निकै सान्त पूर्वक सुने जसरी एकाग्र भएर सुनिरहेका थियौ । उनका कुरामा रिस, क्रोध, दया, माया सबैजसो भावहरु मिसिएका थिए । उनी छिन् छिनमै कहिले खुसी हुन्थिन मुहार उज्यालो हुन्थ्यो ।
सायद प्रसङग बदलिरहन्थ्यो अनी फेरि मनस्थिति बदलेको जस्तो गर्थिन । उनको कुराहरुको हाउभाउ फेरिरहेको हुन्थ्यो । कहिले गहभरी आँसु रोक्दै निकै सिरियस हुन्थिन अनि साहनुभूतिको खोजी गरेजसरी अनुहार मलिन बनाउथिन भने कहिले निकै रिसले दाह्रा किट्थिन । उनका कुराको रस सबैलाई पसिसकेको थियो त्यसैले होला सायद नजिकैबाट चिच्याउदै हिडेका हुलका हुल मान्छेको पनि कसैलाई वास्ता नै थिएन ।
यति कुरा गरिसकेपछि उनको परिचय दिदा राम्रो होला । उनको नाम सरिता बिक हो । उनी रुकुमको एउटा बिपन्न दलित बस्तीमा जन्मेकी नेपाल आमाकी एक देशभक्त सुपुत्री हुन् हाल उनी दाङको लमहीमा एक सफल सिलाईकटाई तथा बुटिकको तालिम दिने व्यवसायी छिन् । उनको बुटिक निकै राम्रोसंग चलेको छ हामी डेड घण्टा जति बस्दा, अहो कति ग्राहक आएका उनलाई बोल्नेसम्म फुर्सद भएन् । हामीले हाम्रो सम्पूर्ण विवरण दाखिल गरेपछि उनले आफ्नो दोकानमा काम गर्ने साथीहरुलाई कामको जिम्मा लगाएर हामीसँग कुरा गर्न थालिन । अब उनका कुरा मैले परिमार्जित गरेर भन्नु भन्दा उनकै हुबहु प्रस्तुत दिदा राम्रो होला । उनले कुरा यसरी सुरु गरिन ।
म रुकुमको एउटा बिकट गाँउमा जन्म लिए । सायद हजुरहरु कति म भन्दा पनि बिकट गाउँबाट हुनुहुन्छ होला । मेरी आमाले सधैं मलाई भनिरहनुहुन्थ्यो म जन्मिने बेलामा एकछिन केही बोलिन रे अनि धेरै बेर रोए अरे । त्यसैले उहाले मलाई तैले यो धर्तीमा धेरै संघर्ष गर्नु पर्ने हुनसक्छ तैले धेरै दुःखको सामना गर्नुपर्छ आदि आदि । पहिला नबुझ्ने हुँदासम्म त मैले वास्ता नै गरिन आमाका कुरा पछि बुझ्ने भए पछि थाहा पाए कि हाम्रो समाजमा जन्मिदा धेरै रुनेले जीवनभर रुनु पर्छ भन्ने विश्वास रहेछ । एउटा दलित परिवारमा जन्मिएकी म पढाईलेखाई गर्ने तिब्र इच्छा हुदा पनि सबैले यो केटीलाई केको पढ्नु परेको होला, भनेर हकार्थे मात्र । मैले अति नै गरे पछि घरबाट १ घण्टा लाग्ने स्कुलमा मलाई भर्ना गरिदिनु भयो ।

गाउँका सबै जसो केटाहरु पढ्न गएपनि केटीहरु एकदम थोरै थिए । त्यसैले म सधै केटाहरुसंगै स्कुल जानुपथ्र्यो । अलि सानो हुदा त एक्लै जानै सक्दिन थिए, एक्लै भए भने स्कुल नै जान्नथे । पछि चार पाँच पढ्ने भएपछि एक्लै जाने आउने पनि गर्न थाले । म ६ मा पढ्ने बेलामा एउटा शेखर नाम गरेको बाहुन केटाले मलाई बाटोमा जबर्जस्ती गर्न खोजेको थियो तर भागेर ज्यान बचाए घरमा कसैसँग भन्न सकिन पढ्न जान दिन्नन भनेर । त्यो केटाले सधै जस्तो सताउँन थाल्यो । साथीहरु ल्याउने अनी जिस्काउने आदि गथ्र्यो । म दिक्क भईसकेकी थिए सधै भाग्दा भाग्दा ।
एकदिनको कुरा हो उसले मलाई जबरजस्ती आफ्नो बल लगाएर एउटा झाडीमा लाग्यो । हात खुट्टा बाधिदियो अनि कपडा खोलिदियो । डरले मेरो शरीरभरी पसिनै पसिना भएको थियो, कामेको थियो अनि म माथि जाई लाग्न थालेको थियो मैले उसको हातमा निकै बेस्सरी टोकिदिए अनि हातखुट्टा बल्ल बल्ल खोलेर भागे । त्यतिबेला जनयुद्ध चलिरहेको थियो अरु मान्छेका मुखबाट समाजमा नराम्रो गर्ने, बलात्कार गर्ने, कालोबजारी गर्ने भ्रष्टाचार गर्ने, अनी सामन्ती विचारका मान्छेलाई माओवादीहरुले ठिक पार्छन भन्ने सुनेकी थिए । एकदिनको कुरा हो, म सात कक्षामा पढ्थे, स्कुलमा सात आठ जना कम्ब्याट डेूस लगाएर हाम्रो स्कुलमा आए अनि हाम्रै कक्षामा पनि आएर यसो भने, हेर्नुस साथीहरु यो सामन्तवादीहरुले हामीलाई निकै सताए । देश बर्बात पारे, नेपाल आमाको अस्मिता माथि धावा बोले, भ्रष्टाचार, कालोबजारी, घुसखोरी, चेलीबेटीमाथि बलात्कार गरे आदि । यस्तै के के बोले अनी हामीलाई पनि जनयुद्धमा लागि साथ दिनुहोस, आउनुहोस, हातमा हात मिलाउ यी सबै विकृतिहरुको अन्त्य गरी एक समृद्ध देश बनाउ । खै मलाई के भयो उनीहरुका कुराले छोयो भनौ क्यार अनी मैले आफ्नो नाम लेखाए । साथीहरुलाई घरमा भनिदेउ भनेर उनीहरुसँग गए । घरमा आमाले थाहा पाएर निकै धेरै रुनु भयो रे, बाबा पनि धेरै दिन बाहिर नै जानु भएन रे ।

हम्रो जनयुद्ध यात्रा चल्दै थियो, धेरै लडाई भईरहेका थिए, सधै भरी गोलाबारी चलिरहन्थ्ये । अझ भन्ने हो भने आफू नै एक जना सेना बनेर हातमा पेस्तोल बोकेकी थिए । म जनसेनामा भर्ती भएको खबर सुनेर शेखर भन्ने मान्छे भागेर तराईतिर लागेछ । बन्दुक पड्काउने, मान्छे मार्ने, लड्ने अब सामान्य भईसकेका थिए । सँगैको उठबस र खानपिन मेरो साहस अनी आफ्नो लक्ष्य प्रतिको दृढता आदि सबै कुराले होला मलाई राजनसँग निकै नजिक बनाएको थियो ।
राजन उमेरले भर्खर १९ को भएपनि निकै समझदार, बुद्धिमानी अनी साहासी थियो । त्यसैले उसले हाम्रो क्षेत्रको इन्चार्जको जिम्मेवारी पाएको थियो । राजन र म असल मित्र भैसकेका थियौ । हामी सबै जसो मनका कुराहरु साटासाट गथ्र्यो । अझ भन्दा हामीले एक अर्कालाई मन पराउँन नै थालेका थियौ तर प्रेम प्रस्ताव कसैले राख्ने हिम्मत भएको थिएन ।
दुःखसुखका कुरा गर्दै लडाईमा होमिदै गर्दा हाम्रा दिनहरु बितिरहेका थिए । हामीले एक अर्कालाई असाध्यै माया गर्न थालिसकेका थियौ । यतिकैमा एकदिनको कुरा हो हाम्रो जिल्ला इन्चार्जले हाम्रो संगैको उठबस थाहा पाएछन् अनी उसलाई अर्कै ठाउँमा सारे ।
त्यतिबेला युद्धमा एक अर्काको प्रेममा परे कमजोर भईन्छ भन्ने मानसिकता थियो । उनलाई सारेपछि हाम्ररो भेटघाट हुने सम्भावना निकै कम थियो । उनी कहिले काही चेकजाच गर्दै आउथे अनि हाम्रो भेट हुन्थ्यो । हामी घन्टौ सम्म माया प्रेमका कुरा गथ्र्यौ, एक अर्कालाई अंकमाल गथ्र्यौ अनी संगै बसेर रुन्थ्यौ, हाँस्थ्यौ पनि । भेट भएका बेला । एकदिन राति खलंगामा हाम्रो फौजले आक्रमण गर्ने भयो । त्यसको नेतृत्व राजनले पाए । आक्रमण गर्दा म पनि फौजमा परेकी थिए । रातिको १२ बजे आक्रमण भयो । हाम्रा फौजका थुप्रै साथी सहिद हुनुभयो । लडाईमा राजन पनि सहिद हुन पुगे, हाम्रा सारा सपना अधुरा हुने भए, संगै बस्ने संगै जिन्दगी काट्ने आदि आदि । धेरै समयसम्म म निकै रोए । अहँ जति रोए पनि मरेका मान्छे के आउथे र उनी आएनन् । मैले उनको सम्झनामा धेरै आँसु बगाए, फोटो हेरेर धेरै टोलाए । पछि दिल्लीमा हाम्रो पार्टी र नेपालका अरु राजनीतिक समूहबीच सम्झौता भएछ युद्ध बन्द गरेर शान्तिपूर्ण आन्दोलन गरेर सरकार ढाल्ने । १९ दिने आन्दोलन भयो राजाको सरकार ढल्यो, हाम्रा बारे धेरै कुरा उठे, सेना समायोजन गर्ने भन्ने कुरा उठ्यो । हामीलाई धेरै समय शिविरमा राखियो, पछि अयोग्य बनेर निस्कनु प¥यो । सात वर्ष युद्ध लडेका हामी अयोग्य भएर घर फर्काईयौ ।

सशस्त्र युद्ध लडेर अयोग्य भई घर फर्केका हामी । समाजले सहजै स्वीकार गर्ने परिस्थिति पनि थिएन । त्यहिमाथि म केटी मान्छे । जेनतेन धेरै गुनासो सुनेर, टोकसो सहेर म १ वर्ष जति बिताए । धेरै कुरा पचाए, सुनेको नसुने झैँ गरेर बसे । म २३ बर्सकी भईसकी थिए । मेरो बिहे गर्ने उमेर भएको देखेर मेरा बाबु आमा निकै चिन्तित हुनुहुन्थ्यो । म दलितकी छोरी त्यहीमाथि जनयुद्ध लडेर आएकी माओवादी, विवाह नहोला भनेर निकै चिन्तित हुनुभो । पछि आफू भन्दा १० वर्ष जेठा, पहिली श्रीमतीको ज्यान गएपछि एक्लै भएका धिरज परिवारसँग मन नहुदा नहुदै पनि मेरो विवाह भयो ।
उनी बेकामे थिए । आय आर्जनको केही उपाय थिएन । त्यसैले उनले विदेश जाने निधो गरे, अनी १ वर्षपछि साउदी अरब गए । छ महिना जति राम्रै कमाई गरे सबै ठिकठाक चलिरहेको थियो । मलाई आफ्ना दुःखका दिन समाप्त भएको जस्तो भएको थियो । तर दैबको नजर म माथि लाग्न छोडेन, मेरो कोखबाट छोरा जन्मियो । छोरा १२ दिनको हुँदा मेरो हातमा रातो मसिले लेखिएको पत्र प¥यो ।
उनको हेपाटाइटिसले ज्यान गएछ । म धेरै रोए कराए, आफ्नो जिन्दगी नै अन्त्य भएको जस्तो महसुस भयो । सहारा कोही थिएन, आमाले सानोमा भनेका धेरै कुरा सम्झन्थे अनी धेरै रुन्थे । आफ्ना बिगत सम्झिन्थे अनी झनै मन खिन्न हुन्थ्यो । सात वर्ष लडे देशका नाममा । तर अहँ पार्टी सरकारमा गयो हामीलाई केही गरेन सधै दिक्क लाग्छ आफूले बेकारमा आफ्नो सिक्ने उमेर खेर फालेको जस्तो महसुस हुन्छ ।

पछि एकल महिलाको लागि दाङमा एउटा संस्थाले सिलाईकटाईको निशुल्क तालिम दिने कुरा सुनियो । दाङमा दिदीको घरमा बसेर ६ महिना तालिम लिए । १ वर्ष जति अरुको बुटिकमा काम गारी पैसा जम्मा गरे अनी पछि एउटा कोठा भाडामा लिएर आफ्नै बुटिक खोले । दुई वर्ष भयो यो बुटिक खोलेको सबै राम्रै चलेको छ । तीन जनालाई काम पनि दिएकी छु । छोरो पनि ४ वर्षको भयो भर्खर स्कुल लगाईदिएकी छु ।
अझै पनि आफ्नै बिगत सम्झेर मन अमिलो हुन्छ । आफूले बिताएका ७ वर्षको हरेक हिसाब खोज्न मन लाग्छ तर के गर्नु ? को सँग खोज्नु ? कहाँ गएर आफ्ना गुनासा पोखु कुनै ठाउँ नै छैन । खै मैले लडेको जनयुद्धको प्रतिफल देशले कहिले पाउने हो ?