पोखराको रामबजार स्वर्ण महोत्सवको तयारी पुरा


 

पोखरा,/ पोखराको रामबजार स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा रामबजार युथ क्लवले गर्न लागेको रामबजार स्वर्ण महोत्सवको तयारी पुरा भएको छ।
क्लबले पोखरामा विहीबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पुरा भएको जनाएको हो। महोत्सव सम्पन्न गर्न गठित पाँच सय एक सदस्यीय मूल आयोजक समिति र विभिन्न सात वटा उपसमितिले तयारी पुरा गरेका छन्।
महोत्सव स्थलको व्यवस्थापन, सजावट, प्रचार प्रसार लगायतका तयारी पुरा भएको क्लवका अध्यक्ष तिलकबहादुर गुरुङले जानकारी दिए। रामबजारको सान, युवाहरुको अभियान भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव कात्तिक १ देखि ४ गतेसम्म रामबजारमा हुदैछ। कात्तिक १ गते अर्थमन्त्री डा रामशरण महतले महोत्सव उद्घाटन गर्ने छन्। उद्घाटनपुर्व प्रभातफेरी निकालिने छ।

महोत्सवस्थललाई दुलहि झै सिगांरिएको छ। रामबजारको मुख्य क्षेत्रलाई झिलिमिलि वत्तिले सिगांरिएको छ। बजारलाई बत्तिले सिगांरिएको दृश्य साझको समयमा निकै मनमोहन देखिने छ। महोत्सवको आकर्षणमा रामबजारको पुरानो फोटो तथा चित्र प्रदर्शनी, ख्यातिप्राप्त कलाकार र व्याण्डहरुको साङ्गितिक कार्यक्रम, देउसी भैलो प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, बाल उद्यान, फुड फेष्टिबल, विभिन्न जातजातीका झाँकी,विविध सम्मान तथा अभिनन्दन कार्यक्रम रहने छन्।
महोत्सवमा निःशुल्क रुपमा प्रवेश पाइने छ। महोत्सव झण्डै तीन लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

महोत्सव सम्पन्न गर्न २३ लाख ७८ हजार खर्च लाग्ने अनुमान गरिएको छ भने २७ लाख ५० हजार संकलन हुने अपेक्षा गरिएको छ। चन्दा संकलन तथा विदेशमा रहेका रामबजारबासिहरुबाट आर्थिक संकलन गरी महोत्सव सम्पन्न गर्ने र केहि रकम बचत लक्ष्य लिइएको छ। महोत्सवबाट बचत हुने रकम रामबजारमा सोलार वत्ति जडान र शिक्षा क्षेत्रको विकासका लागि खर्च गरिने क्लवका उपाध्यक्ष वीरेन्द्र पुनले बताए। २०७० सालमा स्थापना भएको क्लवले छोटो समयमा नै प्रथम रामबजार महोत्सव, रक्तदान, स्वास्थ्य शिविर र सरसफाई जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको छ। वि.स २०१६÷०१७ मा भारतीय पेन्सन क्याम्पसँगै रामबजार स्थापना भएको मानिन्छ।
तत्कालिन समयमा भारतीय सेनाबाट अवकाश प्राप्त गरेका कास्की, पर्वत, स्याङ्जा, लमजुड्ड र तनहुँ जिल्लाका व्यत्तिहरु पेन्सन लिन आउँदा बास बस्ने बस्तीका रुपमा रामबजारको विकास भएको हो।