हिमपात उद्धारकार्यलाई छिटो बनाउन उच्चस्तरिय अनुगमन टोली गठन


पोखरा/सरकारले हालै देशका विभिन्न हिमाली क्षेत्रमा परेको हिमपात र हिम पहिरोमा पुरिएर मरेका वा जिवीत विदेशी पदयात्री र नेपाली गाइडहरुको उद्धारकार्यलाई छिटो बनाउन एक उच्चस्तरिय अनुगमन टोली गठन गरेको छ।
बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सुरक्षा निकाय र निजी क्षेत्रका व्यक्तिहरु सम्मिलित उद्धार कार्यलाई प्रभावकारी बनाई हिमपातबाट धनजनको क्षति जतिसक्दो कम गर्ने कार्यको अनुगमन र नियमन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिपकचन्द्र अमात्यको संयोजकत्वमा समिति गठन गरेको सरकारका एक मन्त्रीले बताए।

समितिमा श्रम राज्य मन्त्री टेकबहादुर गुरुङ र मुख्यसचिव लिलामणी पौडेल सदस्यका रुपमा रहेका छन्। गत मंगलबार र बुधबार परेको हिमपातका कारण अन्नपूर्ण पदमार्ग, धवलागिरी क्षेत्र लगायत विभिन्न हिमाली पदयात्रामा गएका पर्यटकहरु विपदमा परेपछि सेना र प्रहरीको टोलीले अहिलेसम्म २९ जनाको शब र २ सय बढि जनाको जिवित उद्धार गरेको पर्यटन मन्त्रालयले जनाएको छ।