पोखरा विमानस्थलमा भिडभाड


पोखरा/
पर्यटकीय ‘सिजन’ सुरु भएसँगै पोखरा विमानस्थलमा हवाई उडानमा चाप बढेको छ । हवाई कम्पनीले उडान बढाएर दोब्बर पु¥याएपछि त्यसको चाप विमानस्थलमा परेको हो । ठुला जहाज बाहेक साना अल्ट्रालाइट जहाज उडानले अझै भिडभाड बढाएको छ । हवाइजहाजको चापसँगै विमानस्थलमा ‘ट्राफिक जाम’ बढेको पर्यटन व्यवसायीले बताए । त्यसको मार पोखराको आकाशमा पर्यटक सयर गराउने अल्ट्रालाइट जहाजको उडान र अवतरणमा परेको उनीहरुको भनाइ छ । हवाइ भिड बढेको भन्दै विमानस्थलबाट हुने अल्ट्रालाइट जहाज उडान र अवतरणलाई लामो समयसम्म आकाशमा ‘होल्ड’ गर्नुपर्ने अवस्था आएको अल्ट्रालाइट कम्पनिका सञ्चालकले बताएका छन् ।

पोखरा अल्ट्रालाइटका सञ्चालक पोमनारायण श्रेष्ठलेले पोखरा विमानस्थलमा ‘ट्राफिक जाम’ बढेर समस्या भएको बताए । ‘ट्राफिक जाम’ यति धेरै बढेको छ कि अल्ट्रालाइट जहाज २५ मिनेटसम्म आकाशमा ‘होल्ड’ गर्नुपरेको छ,’ उनले भने, ‘हरेक पटकको उडानमा समस्या आउन थालेको छ ।’ १५ मिनेटका लागि उडेका कतिपय पर्यटकलाई थप करिब आधाघण्टासम्म आकाशमा घुमाउनुपरेपछि त्यसको मार आफूहरुले खेप्नुपरेको उनले बताए ।
अल्ट्रालाइट जहाज उडानका लागि विहान साढे ६ देखि ११ र ३ देखि ५ बजेसम्मका लागि समय छुट्याइएको छ । तर, त्यही समयमा पोखरा–काठमाडौ र पोखरा–जोमसोम रुटमा उडान हुने गर्छन् । ‘हवाई जहाज र अल्ट्रालाइटको उडान समय एकैपटक परेकाले पनि भिड बढेको हो,’ उनले भने, ‘उडान संख्या पनि धेरै भएकाले भिडभाड छ ।’ पर्यटकीय सिजन सुरु भएसँगै हवाई कम्पनीले पनि यहिबेला करिब दोब्बरले उडान थपेका छन् । बुद्ध एयरले यतिबेला पोखरा–काठमाडौं रुटमा दैनिक ९ उडान गरिरहेको छ । त्यस्तै, यतीले ११ र सिम्रिकले ६ वटाको दरले यहि रुटमा उडान गरिरहेका छन् । केही दिनअघि यतीले एकैदिन १४ वटासम्म उडान गरेको थियो । नेपाल एयरलाइन्सले पनि यहिबेला उडान थालेको छ । पोखरा–काठमाडौ बाहेक पोखरा–जोमसोम रुटमा थपिएका उडानले पनि यतिबेला विमानस्थलमा भिड बडेको हो । तारा, सिम्रिक र नेपाल एयरलाइन्सले अहिले पोखरा–जोमसोम रुटमा पनि दैनिक करिब एकदर्जन उडान गरिरहेका छन् । तीनवटा अल्ट्रालाइट कम्पनीले पोखराको आकाशमा पर्यटकलाई सयर गराउँछन् । ती सबैको उडान समय करिब एकैबेला पर्छ । पर्यटकीय सिजन सुरु भएसँगै अल्ट्रालाईटको उडान पनि यतिबेला दोब्बरले बढेको सञ्चालकहरुले बताए । ‘सबैतिर भिडभाड छ । ठुला जहाजको उडान पनि यति नै बेला थपिएका छन् । त्यसको मारमा हामी परेका छौं,’ उनले भने, ‘सिजनका बेला पर्यटक अल्ट्राालइट चढ्न खोज्छन् । आएका पर्यटकलाई सुविधा दिनैप¥यो ।’ ठुला जहाजको उडान अवतरणलाई ‘क्लियर’ गरेर मात्र अल्ट्रालाइटले प्राथमिकता पाउने भएकाले पनि आकाश र भुईमै लामो समय पर्खिनुपरेको उनले गुनासो सुनाए ।

अर्काे एक अल्ट्रालाइट कम्पनीका प्रबन्धकले जहाजको भिडले गर्दा १५ मिनेट अवधिको अल्ट्रालाइट उडान अवरोध भइरहेको बताए । छोटो समयको उडानले बढी भिड गराउने भन्दै विमानस्थलबाट १५ मिनेट अवधिको उडान नगर्नसमेत अनुरोध आएको ती प्रबन्धकले बताए । ‘१५ मिनेट उडानलाई अनुमति नै पाएका छैनौं । छोटो अवधिको उडानले बढी भिड गराउने भएकाले नउडाउनु भन्ने विमास्थलले सुझायो,’ उनले भने, ‘त्यही भएर रोकेका हौं । छोटो अवधि उड्न चाहनेलाई यसले मर्कामा पारेको छ । उडान र अवतरणका लागि समय खर्चनुपरेकोले नउडाउनु भनिएको हो ।’ उड्ने तयारीमा रहेको बेला लामो समय होल्ड गर्नुपर्दा कतिपय पर्यटक रिसाउने गरेको उनले बताए । ‘विमानस्थल टावरको अनुमतिमा मात्र हामी उड्ने हो । तर पर्यटकले त्यो बुझ्दैनन्’ उनले भने, ‘एकछिन पर्खिनुप¥यो भने पनि रिसाउँछन् । पर्यटकलाई मनाउँदै हैरान भएको छ ।’ उनले पनि पर्यटकीय सिजन लागेकाले यो बेला अत्यधिक भिड बढेको बताए । पर्यटकीय सिजन सुरु भएको र यति नै बेला चिनियाँ पर्यटकको आगमन अत्यधिक बढेकोले पनि भिड भएको उनले बताए । ‘हाम्रा अल्ट्रालाइट दिनहुँजसो होल्डमा बस्नुपर्छ । सबै उडानको समय एकैपटकजसो पर्छ’ उनले भने, ‘ट्राफिक जाम’ को मारमा छौ ।’ पोखरा विमानस्थलबाट मात्र उडान हुने अल्ट्रालाइटले १५, ३०, ६० र ९० मिनेटको प्याकेज बनाएर पर्यटकलाई उडाउँछन् । पर्यटक आगमन बढेपछि यतिबेला अल्ट्रालाइट उडान पनि थपिएका छन् ।

दसैंपछाडि जहाज र अल्ट्रालाइटको अत्यधिक भिड बढेको पोखरा विमानस्थलका प्रमुख दीपक बरालले बताए । ठुला जहाजलाई बाधा नपर्नेगरि अल्ट्रालाइटलाई उडान गर्न दिने भएकोले पनि केही समस्या आएको उनले बताए । ‘ठुला जहाजको उडान र अवतरणमा बाधा नपर्नेगरि अल्ट्रालाइटलाई उड्न दिने हो । भिड बढेको बेला कहिलेकाँही समस्या आउन सक्छ,’ उनले भने, ‘दुवै जहाजलाई सुरक्षित तरिकाले उडान र अवतरणको व्यवस्था गर्दा केही बेर पर्खिनुपरेको हुनसक्छ ।’ बरालका अनुसार पछिल्लो समय पोखरा विमानस्थलबाट दैनिक २ सय ७० को हाराहारीमा उडान र अवतरण भइरहेका छन् । पर्यटकीय सिजन सुरु हुँदा ठुला जहाजसँगै अल्ट्रालाइटको उडान थपिएकोले भिढ बढेको उनले बताए । ‘ठुला जहाजको उडान पनि निकै बढेका छन् । अल्ट्रालाइट पनि थपिएका छन् । सबैको चाँप एकैपटक परेको हो’ उनले भने,‘यसले ट्राफिक जाम गराएको हो । ट्राफिक जामको समस्या सानाले मात्र नभई ठुला जहाजले पनि खेप्नुपरेको छ ।’-समाधान दैनिक पोखराबाट