स्वास्थ्य सेवाको पहुँच बढेपछि,धामीझाँक्री सचेत बन्दै


बेनी (म्याग्दी) /जिल्लाका ग्रामीण तहसम्म पनि स्वास्थ्य सेवाको पहुँच बढेपछि धामीझाँक्रीले गर्ने उपचार विधिमा पनि परिवर्तन आउन थालेको छ । म्याग्दीका धामीझाँक्रीले आफूकहाँ आउने बिरामीलाई सम्झाइबुझाई गरेर स्वास्थ्य संस्थामा पठाउन थालेको हो ।
पहिलेपहिले आफैँले रोग निको पार्ने दाबी गर्ने उनीहरुले पछिल्लो समय भने कडा किसिमका बिरामीलाई मात्र होइन झारफुकका लागि आफूकहाँ आउने सबै बिरामीलाई स्वास्थ्य संस्थामा पठाउन थालेका हुन् ।

आफूले जानेको गर्ने तर जोखिम मोलेर उपचार नगर्ने, घरमा आएकालाई आफूले सामान्य झारफुक गर्ने र अस्पताल जान सल्लाह दिने गरेको उनीहरु बताउँछन् ।
उनीहरुका अनुसार ज्वरो आउने, घाँटी दुख्ने, पेट दुख्नेलगायतका बिरामी आफूहरु कहाँ आउने गरिएका छन् । विगत ५ वर्षदेखि झारफुक गर्दै आएकी मनमाया बुढाथोकीले आफूकहाँ आउने बिरामीलाई अस्पतालमा जाने सल्लाह दिए पनि कतिपय बिरामीले झारफुक गर्न बाध्य पार्ने गरेका र झारफुकपछि निको भयो भन्ने गरेका बताउनुभयो ।
धामीझाँक्रीकामा उपचार गराउँदा कम खर्चिलो हुने र आफ्नो रोग केही मात्रामा ठीक पनि भएकाले धामीझाँक्री बसाल्ने गरेको उनीहरु कहाँ उपचारका लागि जानेहरुको भनाइ छ । बालबच्चा, आमाको पोषण र सरसफाइको स्थितिमा सुधार ल्याउने उद्देश्यले मिलन म्याग्दीद्वारा जिल्लामा सञ्चालन भएको बहुक्षेत्रीय पोषण कार्यक्रम सुआहाराको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले धामीझाँक्री, वैद्य तथा धार्मिकगुरुलाई तालिम दिएपछि धामीझाँक्रीमा यस्तो परिवर्तन आएको हो ।

म्याग्दीको ग्रामीण क्षेत्रका अधिकांश महिलामा रक्तअल्पताको समस्या जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका गर्भवती रक्तअल्पताबाट पीडित बनेका छन् । स्वास्थ्य चौकीमा गर्भ जाँचका लागि पुग्ने महिलाले पोषणयुक्त खाद्यआहारको प्रयोग नगर्दा रक्तअल्पताको समस्या देखापरेको हो । अत्यधिक कामको बोझ र पोषणयुक्त आहार नपाउँदा महिलाले सुत्केरी हुने बेला समस्या झेल्दै सुत्केरीपछि विभिन्न रोगको सङ्क्रमणको सिकार हुनुपर्ने अवस्था सिर्जना हुने ज्यामरुककोट हेल्थपोस्टका स्वास्थ्यकर्मी बिमल मल्लले बताउनुभयो ।
गर्भावस्थामा ११.५ प्रतिशत हेमोग्लोबिन हुनुपर्छ । यहाँका अधिकांश ग्रामीण महिलामा नौदेखि तीन प्रतिशतसम्म ‘हेमोग्लोबिन’ रहेको पाइएको उहाँले बताउनुभयो । यहाँ ब्याप्त गरिबी, चेतनाको कमी र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्दा महिला रक्तअल्पताको समस्या झेल्दै आएका छन् । रक्तअल्पता भएका महिलालाई पोषणयुक्त खाना खान सल्लाहका साथै स्वास्थ्यचौकीमा उपलब्ध हुने आइरन चक्की सुत्केरी भएको अघि र पछि खान सल्लाह दिने गरेको जिल्ला अस्पताल म्याग्दीले जनाएको छ ।

अरू वर्षको तुलनामा गर्भ जाँच र सुत्केरीका लागि महिलाको स्वास्थ्य चौकी आउने क्रम बढे पनि अधिकांश रक्तअल्पताबाट पीडित छन् । पीडित गर्भवतीमध्ये केहीले पेटभर खानासमेत नपाउने गरेको जिल्ला अस्पतालका चिकित्सक श्रेष्ठले बताउनुभयो । गर्भवतीको हेरचाह र आहारको व्यवस्था गरे रक्तअल्पता आफँै हटेर जाने चिकित्सक श्रेष्ठको भनाइ छ । रासस