भारत-नेपाल टेलिफोन महसुल दर ‘केही कम’


नेपालबाट भारतमा धेरै फोन गरिने हुँदा नेपालबाट भारत गरिने टेलिफोनको महसुल सस्तो भएको बताइन्छ
नेपाल टेलिकमका अनुसार भारतबाट नेपाल टेलिफोन गर्दा लाग्ने महसुल दर प्रति मिनेट ६ भारतीय रुपैंयामा झरिसकेको छ।
त्यो दर त्यस अघि औसतमा प्रति मिनेट १० भारतीय रुपैंयाँ थियो।
तर त्यसको तुलनामा नेपालबाट भारत टेलिफोन गर्दा लाग्ने शुल्क अझै पनि निकै कम छ।
नेपाल टेलिकमको नेटवर्कबाट फोन नम्बरको अगाडि १४२४ राखेर भारत फोन गर्दा प्रति मिनेट ३ रुपैंया भन्दा कम शुल्क लाग्छ तर भारतबाट फोन गर्दा अझै पनि तीन गुना भन्दा बढी शुल्क लाग्छ।
त्यो कुरा थाहा पाएका भारतीय प्रधानमन्त्री मोदीले गत अगष्टमा नेपालको संसदमा संबोधन गर्ने क्रममा आश्चार्य व्यक्त गरेका थिए।

“म छक्क पर्छु कहिलेकाहीं अमेरिका टेलिफोन गर्न सस्तो मा हुन्छ नेपाल चाँही महंगो हुन्छ। म बुझ्दिन यस्तो किन भइरहेको छ? के बाधक छ?
गत अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालको संसदलाई संबोधन गर्दै
“नेपालका लाखौं मानिस भारतमा बस्छन् परिवारसँग फोनमा कुरा गर्न चाहन्छन् गर्न सक्दैनन् नमस्ते गरेर फोन राखिदिन्छन्। म यो स्थितिलाई बदल्न चाहान्छु।”
घट्दो क्रम
नेपाल टेलिकममा सहप्रवक्ता राजेश जोशीका अनुसार गत सेप्टेम्बर महिनादेखि लागू हुने गरि भारतका चार वटा टेलिकम अपरेटरहरु, डाटा टेलिसर्विसेज् टेलि विङ्ग्स एमटीएस र भिडिओकनबाटको नेटवर्क मार्फत नेपाल टेलिकमको नेटवर्कमा फोन गर्दा लाग्ने महसुल दरलाई प्रति मिनेट ६ भारतीय रुपैंयाँमा झारिएको छ।

“गत सेप्टेम्बर देखि चारवटा भारतीय अपरेटहरुले नेपाल फोन गर्ने महसुल दर घटाएका छन् त्यसलाई अझै कम गराउनको निम्ति छलफलहरु जारी छन्।”
उनका अनुसार भारतमा रोजगारी गर्ने वा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरि नेपालबाट भारतमा धेरै फोन गरिने हुँदा नेपालबाट भारत गरिने टेलिफोनको महसुल सस्तो भएको हो।
नेपाल टेलिकमका अतिरिक्त अन्य टेलिकमका नेटवर्कहरुबाट पनि भारततर्फ गरिने फोनको महसुल दर कम रहेको छ।
तर सबै नेटवर्कहरुमा भारतबाट आउने फोनको महसुल दर भने भारतमा अझै पनि तुलनात्मक रुपमा बढी रहेको अधिकारीहरुको भनाइ छ।- bbc nepali sewa