कोबानीमा निरन्तर हवाई आक्रमण


अमेरिकी नेतृत्वको गठबन्धनको कारवाहीले आइएस विद्रोही लडाकूहरु अगाडि बढ्नबाट रोकिएका छन्
अमेरिकी नेतृत्वको गठबन्धनले सिरिया र टर्कीको सीमावर्ती सहर कोबानीमा इस्लामिक स्टेट लडाकूविरुद्ध अहिलेसम्मकै निरन्तर हवाई आक्रमण गरिएको जनाएको छ।
सिरियाका कुर्द लडाकूहरुले आक्रमण निकै प्रभावकारी भएपनि त्यो धेरै पहिले हुनुपर्ने बताएका छन्।
अमेरिकी सेनाले जारी गरेको पछिल्लो विवरणले कोबानीमा पाँच वटा हवाई आक्रमण गरिएको पुष्टि गरेको छ।
तर सीमावर्ती सहरमा रहेका बीबीसीका पल एड्म्सले मंगलबार अपरान्ह थप आक्रमणहरु सुनिएको र स्थानीय समय अनुसार बिहान चार बजेसम्म हवाई आक्रमणको संख्या आठ पुगेको बताएका छन्।
ध्वस्त
पर्यवेक्षकहरुका अनुसार तीन सातादेखि कोबानीमा जारी संघर्षका कारण कम्तीमा चार सय मानिस मारिएका छन् भने एक लाख ६० हजार सिरियाली नागरिकहरु भागेर टर्की पुगेका छन्
सोमबार र मंगलबार ती आक्रमणहरु गरिएको बताइएपनि निश्चित समयबारे केही उल्लेख गरिएको छैन्।
आक्रमणबाट आइएस विद्रोहीका चार वटा सवारी साधन र एउटा इकाई ध्वस्त भएको बताइएको छ।
त्यस्तै एउटा ट्यांक र अर्को बख्तरबन्द गाडीमा क्षति पुगेको अमेरिकी सेनाले जनाएको छ।
संवाददाताहरुका अनुसार हवाई आक्रमणका कारण आइएस विद्रोहीको दबदबा रोकिएको जस्तो देखिएको छ।
नियन्त्रण
यसअघि टर्कीका राष्ट्रपतिले कोबानी सहर विद्रोही लडाकूहरुको नियन्त्रणमा जानै लागेको बताएका थिए।
सैन्य सहयोग नगरेकोमा कुर्दहरुबाट आफूले ठूलो विरोधको सामना गर्नुपरेको उनको भनाई थियो।
टर्कीमा प्रदर्शनको क्रममा १२ जनाको मृत्यु भएको बताइएको छ।
पर्यवेक्षकहरुका अनुसार तीन सातादेखि कोबानीमा जारी संघर्षका कारण कम्तीमा चार सय मानिस मारिएका छन् भने एक लाख ६० हजार सिरियाली नागरिकहरु भागेर टर्की पुगेका छन्।- bbc nepali