सहमतिको प्रस्ताव ल्याउन प्रचण्डलाई ओलीको चुनौति


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले सहमतिको संस्कार स्थापित गर्न आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरुले आ-आफ्नो असहमति दोहोर्‍याएका छन् ।
कोजाग्रत पूणिर्माका दिन वीपी कोइरालाले शुरु गरेको चियापानलाई निरन्तरता दिदै प्रधानमन्त्री कोइरालाले मंगलवार पार्टी कार्यालय सानेपामा चियापान आयोजना गरेका थिए ।
चियापानमा सहभागी हुन पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानका विवादित विषयमा सहमतिको प्रस्ताव लिएर आउन एमाओवादी अध्यक्ष प्रचण्डलाई चुनौति दिए । ओलीले पत्रकारहरुसँग भने-‘मुलुक एउटा व्यक्तिको एजेण्डामा हिँड्दैन, प्रचण्डजीले सहमतिको प्रस्ताव लिएर आउनुहोस्, हामी छलफल गर्छौं । होइन भने हाम्रो प्रस्तावमा आउनुपर्छ ।’
ओलीले मोहन वैद्यदेखि कमल थापासम्म सबैको सहमतिमा संविधान जारी गर्न कठिन रहेको भन्दै सबैलाई मान्य हुने प्रस्ताव लिएर आउन प्रचण्डलाई चुनौति दिए ।
एमालेकै अर्का नेता माधवकुमार नेपालले एमाओवादी सात वा आठ प्रदेशमा झर्नासाथ संविधानका विवादित विषयमा सहमति जुट्ने बताए ।
एमाओवादी अध्यक्ष प्रचण्डले भने पेलेर जाने हो भने भने संविधान नबन्ने दोहोर्‍याए । उनले आफूहरुले गर्ने भनेको आन्दोलन सहमतिका लागि दबाव दिन हो भने । प्रचण्डले भने-‘आन्दोलन रहर होइन । सहमतिका लागि दबाव दिनका लागि मात्र आन्दोलनको कुरा गर्नु परेको हो ।’
प्रचण्ड मोर्चाका अर्का नेता फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारले राज्य पुनःसंरचनामा छलफल हुँदै जादा प्रदेशको संख्यामा तलमाथि हुन सक्ने बताए ।
चियापानमा सहभागी नेताहरुलाई स्वागत गर्दै प्रधानमन्त्री कोइरालाले माघ ८ मा संविधान जारी हुँदैन भनेर अशुभ कुरा नबोल्न आग्रह गरेका थिए ।-onlinekhabar