पूर्व प्रधानमन्त्री खनालको अमेरिकामा शल्यक्रिया गरियो


सूर्य थापा
१९ असोज, न्यूयोर्क । पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालको अमेरिकाको मेरिल्याण्डमा सफल शल्यक्रिया सम्पन्न भएको छ ।
मेरिल्याडको जोन हकिम्स अस्पतालमा खनालको शनिबार सफल शल्यक्रिया गरिएको हो । पिसाब सम्बन्धी समस्या भोग्दै आएका खनालको ३ वर्ष पहिले भारतमा २ पटक र नेपालमा एकपटक शल्यक्रिया भएको थियो ।

३ पटकसम्म शल्यक्रिया गर्दा पनि समस्या समाधान नभएपछि खनाल अमेरिका पुगेको प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष सन्जय थापाले बताए ।मन्चका महासचिव प्रभु थापाका अनुसार मेरिल्याण्डको जोन हकिम्स अस्पतालमा यस रोग सम्बन्धी बिषेशज्ञ भएकोले खनाल केहि दिन पहिले मेरिल्याण्ड आएका थिए । खनालसंगै नेपालबाट आएका डाक्टर शुमन शर्मा उप्रेतीका अनुसार खनालको अप्रेशन जटिल खालको थियो ।
खनालको शनिबार ५ घण्टा लामो अप्रेशन सम्पन्न भएपछि डाक्टरले खनाललाई १० दिन आराम गर्न भनेका छन् । १० दिन आराम गरेपछि खनाल कति समय अमेरिकामा बस्नु पर्ने भन्ने कुराको निर्णय हुने जनाइएको छ । मेरिल्याण्डमा खनालको अप्रेशन भए पश्चात उनलाई महावाणिज्यदुत प्रेमराजा महत्, प्रवासी नेपाली मन्च अमेरिकाका महासचिव प्रभु थापा, डिल्ली पौडेल लगाएतका एमालेका स्थानिय कार्यकर्ताहरुले पनि सहयोग गरिरहेका छन् ।

खनाललाई सहयोग गर्न नेपालबाट शुमन शर्मा उप्रेती सहित दुई जना डाक्टरका साथै उनका सहयोगि आरबि राई पनि संगै आएका छन् । जटिल अप्रेशन सफल भएपछि खनालले अब आफु झनै सक्रिय भएर देश र जनताको सेवामा लाग्ने बताएको अस्पतालमै रहनुभएका डिल्ली पौडेलले जानकारी दिए ।