स्पेन को बेनिडर्ममा दशै कार्यक्रम सम्पन्न


प्रकाश तिवारी
स्पेन –

नेपाल स्पेन समाज, स्पेन द्वारा अक्टोबर ३ तारिख शुक्रबारका दिन आयोजित “दशैँ कार्यक्रम ” सफलता पुर्वक सम्पन्न गरेको छ। स्पेनको कोस्टाब्लांका स्थित धेरै नेपाली समुदायको बसोबास रहेको शहर बेनिडर्ममा आयोजित कार्यक्रममा २०० भन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो।

साँझ ७ बजे देखी कार्यक्रम शुरु गर्ने भनिए पनि रातको ९ बजे देखी मात्र कार्यक्रम आरम्भ गरिएको थियो । कार्यक्रम स्थलमा स्वेच्छाले टिका लगाउन चाहनेहरुका लागि (पण्डित) ईश्वर गौतमको ब्यबस्थापनमा टिका तथा जमराको ब्यबस्था गरिएको थियो भने कार्य व्यस्तताले घरमा टिका लगाउन नपाएकाहरुले कार्यक्रम स्थलमानै टिका लगाएका थिए ।

दुई चरणमा विभाजित दशैँ बिशेष कार्यक्रममा प्रथम चरणको औपचारिक कार्यक्रम अत्यन्त छोटो रहेको थियो। औपचारीक कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष लाल बहादुर केसी ले गर्नु भएको थियो भने अन्त जस्तो सभापतिको लागि बिशेष ठाउँको व्यवस्था नगरी कार्यक्रम ब्यबस्थापनमा सघाई रहनु भएका केसीले यथावत स्थान बाटनै कार्यक्रमको सभापतित्व गर्नु भएको थियो त्यसैगरी समाजका सल्लाहकार निर्मल घिमिरेले बडा दशैको महिमाको बारे चर्चा गर्दै समाजको तर्फ बाट शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो।

यसरी अत्यन्तै सम्क्षिप्त रुपमा सम्पन्न भएको औपचारीक कार्यक्रम पछि सबैको आकर्षणको केन्द्र रहेको सांगीतिक तथा साँस्कृतिक कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रमको शुरुवातमा नेपाली रास्ट्रिय गान प्रस्तुत गरिएको थियो। रास्ट्रिय गान संगै शुरु भएको बिबिध सांगीतिक तथा साँस्कृतिक कार्यक्रममा गायक कलाकारहरु दिवाकर गुरुङ, प्रविन गुरुङ र किरण सुबेदीले बिभिन्न नेपाली गीतहरु गाएर मनोरंजन प्रदान गरेका थिए भने बालकलाकारहरु रेबेका श्रेष्ठ, मनसुन पोखरेल र एलिसा ढुंगानाले स्पेनिश गीत गाएर नेपाली तथा कार्यक्रममा उपस्थित केहि स्पेनिशहरुलाई मनोरंजन प्रदान गरेका थिए।

त्यसैगरी हाल स्पेनमा बसोबास गर्ने कुनै बेलाकी चर्चित नृत्यांगना मुना घिमिरे, अपेक्षा ढुंगाना, अनुपा ढुंगाना र बाल कलाकार दिया बिष्टले बिभिन्न नेपाली गीतहरुमा रोचक नृत्य प्रस्तुत गरेका थिय। कार्यक्रममा गीत र नृत्य बाहेक कलाकार धन सापकोटाले मिठो बासुरीको धुन बजाएर सबैलाई मन्त्र मुग्ध पार्नु भएको थियो भने अर्का कलाकार सागर खत्रीले विभिन्न समसामयिक बिषयमा आधारित हास्यब्यंग चुट्किलाहरु प्रस्तुत गरेर सबैलाई हसाउनु भएको थियो। कार्यक्रममा सांगीतिक तथा सास्कृतिक प्रस्तुतिका बिचमा विभिन्न नेपाली लोकप्रिय गीतहरुमा उपस्थित सबै जनाले उफ्रदै, बस्दै नाचेर मनोरंजन लिएका थिए भने चलचित्र गोर्खा पल्टनको “सान्नानिले झुक्यायो मलाई” बोलको गीत बजाउँदा सबै जना रमाउदै पसिनाले निथ्रुक भिजुन्जेल नृत्य गरेका थिए ।

करिब चार घण्टा सम्म चलेको कार्यक्रममा समाजका कोषाध्यक्ष रितेश श्रेष्ठको ब्यबस्थापनमा कोशिष राज महर्जन, ओम बिष्ट, सुनयना श्रेष्ठ, मेरिना श्रेष्ठ, सुलोचना, मंजु महर्जन, हौसला हमाल, शुष्मा ढुंगाना, रोजिना श्रेष्ठ, मनिष पोखरेल, गोबिन्द पुन लगायतको सहयोगमा सेलरोटी सहित बिभिन्न नेपाली खानाका परिकारहरु राखिएको थियो।

कार्यक्रममा साना बालबालिकाहरुलाई मध्य नजर गरि कुनै चोट पटक नलागी मज्जाले उफ्रन मिल्ने Inflatable Jumper को ब्यबस्था गरिएको थियो। कार्यक्रममा थप मनोरन्जनको लागि एक जना Childrens Entertainer को समेत ब्यबस्था गरिएको थियो जसले विभिन्न सर्प र अजिङ्गरहरु प्रस्तुत गरेका थिए।

नेपाल स्पेन समाजद्वारा आयोजित यस “दशैँ बिशेष कार्यक्रम २०७१” मा आफ्नो कला प्रस्तुत गरेर सहयोग गर्ने सम्पूर्ण कलाकारहरुलाई समाजको तर्फबाट अध्यक्ष लाल बहादुर केसी तथा दशैँ बिशेष सास्कृतिक कार्यक्रमका संयोजक प्रकाश तिवारी द्वारा प्रसंशा पत्रले सम्मान गरिएको थियो। समाजका अनुसार कार्यक्रमलाई सफलता पुर्बक सम्पन्न गर्न विभिन्न क्षेत्रबाट खट्नुहुने सम्पूर्ण सहयोगीहरुलाई आगामी कार्यक्रमहरुमा सम्मान गरिने बताइएको छ।

रातको साढे १ बजे सम्म पनि अन्यन्तै उत्साहका साथ चलेको कार्यक्रममा निर्मल घिमिरे, केदार देवकोटा र बिरेन्द्र श्रेष्ठले हल ब्यबस्थापन गर्नु भएको थियो भने खिमु गिरी, बिरु खत्री र राजु पाण्डेले हल ब्यबस्थापनमा सहयोग पुर्याउनु भयको थियो । कार्यक्रमको टिकट बिक्रि वितरण तथा ब्यबस्थापनमा सुरेश बज्राचार्य, राजन थापा, मुकुन्द लामिछाने, केदार देवकोटा, लाल बहादुर केसी र ईश्वर गौतमले बिशेष सहयोग गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष लाल बहादुर केसीले कार्यक्रम समापन भएको घोषणा गर्दै यस बर्षको दशैँ बिशेष कार्यक्रमलाई सफल पार्न आ-आफ्नो ठाउँबाट प्रतक्ष तथा अप्रतक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु एबम कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुमा समाजको तर्फ बाट हार्दिक आभार ब्यक्त गर्नु भएको थियो।

यसरि सम्पन्न भएको सम्पूर्ण कार्यक्रमको संचालन कलाकार प्रकाश तिवारीले गर्नु भएको थियो भने सास्कृतिक कार्यक्रमको संचालनमा हौसला हमालले साथ दिनु भएको थियो।