दसैंको टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका थापिँदै


काठमाडौं असोज १८। दसैंको टीकाको दोस्रो दिन आज पनि आफ्ना मान्यजन र आफन्तबाट टीका थापेर आर्शिवाद ग्रहण गरिँदैछ । योक्रम कोजाग्रत पूर्णिमासम्मै जारी रहन्छ ।
टाढा-टाढाका आफन्तजन पनि दसैंका समयमा सकेसम्म सबैकहाँ पुग्ने प्रयास गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान मानिसहरुलाई चटारो नै हुने गर्दछ । लामो समय काम विशेषले भेट हुन नसकेकाबीच पनि भेटघाट हुने अवसर दसैंले उपलब्ध गराइदिन्छ ।
यसअघि शुक्रबार बडादसैंको दशौं दिन मान्यजनबाट टीका थापेर र आफन्तसँग हार्दिकता बाँडेर मनाइएको छ । यस अवसरमा घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा-आराधना गरिएको टीका, जमरा र प्रसाद आफूभन्दा अग्रजको हातबाट थापेर आशिर्वाद लिइन्छ ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास गरिन्छ । परिवारमा टीका लगाइ आफ्नो कुलकुटुम्बमासमेत टीका लगाउन जाने परम्परा छ ।
ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दसैंलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कायम गर्ने चाडको रूपमा लिइन्छ ।