दशै खर्चिलो बन्दै, पोखराका बैंकबाट धेरै रकम बाहिरियो


 

भरत कोइराला/पोखरा, १६ असोज । अघिल्ला वर्षहरुको तुलनामा यस पालाको दसैं खर्चिलो हुने देखिएको छ । बैंकमा भएको कारोबार, बजार गतिविधिले यो वर्षको दसैं खर्चिलो देखिएको हो । बैंकहरुमा खुद्रा पैसा साट्नेको मात्र हैन, बजारमा सामान किन्ने र खसीबोका बजारमा समेत उस्तै भीड बढेको व्यवसायीहरु बताउ छन् ।

चुलिंदो बजार भाउ, बढ्दो रेमिट्यान्ससँगै खर्च गर्ने प्रवृत्तिले पनि दसैं खर्चिलो बन्दै गएको बताउँछन् मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल । उनका अनुसार गत वर्ष भन्दा यो वर्ष दसैंमा पैसा झिक्न आउनेको भीड निकै बढेको छ । दिनभरीका लागि भनेर राखिएको नगद मौज्दात एक घण्टामै सकिएको उनले सुनाए । मुक्तिनाथ विकास बैंकको पृथ्वीचोकस्थित मुख्य शाखा कार्याललयबाट एक दिनमा मात्रै तीन करोड भन्दा बढी निक्षेप ग्राहकले निकालेको उनले बताए ।

दसैंको लागि भन्दै एउटै ग्राहकले खाताबाट आवश्यकभन्दा रकम निकालेको बैंकरहरु बताउँछन् । पोखरामै मुख्य कार्यालय रहेको ओम फाइनान्स लिमिटेडका महाप्रवन्धक बुद्धि मल्ल अरु समयमा भन्दा दसैंका बेला निक्षेप फिर्ता लिनेहरु छ÷सात गुणा बढ्ने बताउँछन् । सामान्य निक्षेपकर्ता मात्र नभएर ठूला ब्यापारीहरुले ऋणको मात्रा समेत बढाउने उनले सुनाए । सामानको मौज्दात बढाउन ब्यापारीले ऋणको मात्रा समेत बढाउने गरेको उनले बताए । वर्ष भरी आउने रेमिट्यान्समध्ये एक चौथाई दसैंको बेलामा मात्र आउने बैंकरहरु बताउँछन् ।

रेमिट्यान्स लिने, निक्षेप फिर्ता लिने र खुद्रा सटही गर्ने ग्राहकका कारण अहिले बैंकका कर्मचारी बेफुर्सदी बनेका छन् । आफ्ना ग्राहकलाई खुसी पार्न बैंक तथा वित्तीय संस्थाहरुले खुद्रा रकम दिने गरेको पाइएको छ । सामान्यतया साढे पाँच बजे छुट्ने कर्मचारीले आठ बजेसम्म पनि बैंककै काममा ब्यस्त हुने गरेका छन् । थोरै परिणामको रकम पनि धेरै नोटमा आउने भएकाले बैंकका कर्मचारीले सास्ती खेप्नुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले यो दसैंमा मात्र ६० करोड रुपैयाँ भन्दा बढी खुद्रा रकम वितरण हुने जनाएको छ । यो पोहोर भन्दा २० प्रतिशत बढी रकम बजारमा पठाइएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका कायममुकायम व्यवस्थापक वृहस्पति अधिकारीले बताए । करिब ६५ करोड मध्ये १५ करोड रुपैयाँ गण्डकी र धवलागिरी अंचलका छ वटा नोटकोषमा पठाइएको छ । यसपालि मनाङ र मुस्ताङमा पोखराबाट खुद्रा पैसा नपठाइएको उनले बताए ।

पोखराबाट मात्रै ५० करोड रुपैयाँ हाराहारीमा खुद्रा पैसा वितरण भएको छ । पोखरामा रहेका सबै वाणिज्य बैंकका शाखा, विकास बैंक, फाइनान्सका मुख्य तथा शाखा, घ वर्गका वित्तीय संस्था र सहकारीलाई सिमा तोकेर रकम उपलब्ध गराइएको छ । सर्वसाधारणाले राष्ट्र बैंककै कार्यालयबाट पनि लाइनमा बसेर खुद्रा पैसा सटही गर्दै आएका छन् । अहिले जति धेरै खुद्रा रकम बजारमा पठायो पछि बैंक तथा वित्तीय संस्थाहरुलाई उत्ती नै बढी झण्झट हुन्छ ।

बजार भाउ गत वर्षको तुलनामा सरदर १५ प्रतिशत बढेको छ । चामलनै अघिल्लो दसैंभन्दा अहिले प्रतिकिलो पाँच रुपैयाँले बढेको छ । अन्य सामानमा पनि त्यस्तै अवस्था रहेको मुनाल स्टोर्सका संचालक मोति भुजेल बताउँछन् । तर गत वर्षको तुलनामा ब्यापार वृद्धि नभएको उनको अनुभव छ । उता बजारमा खसीको मासुको भाउ गत वर्ष जति नै अर्थात् प्रतिकिलो आठ सय रुपैयाँ भए पनि कुखुराको मासुमा भने प्रतिकिलो ३० रुपैयाँ सस्तिएको छ ।

च्यांग्राको भाउ भने अचम्मैले बढेको व्यवसायीहरु बताउँछन् । गत वर्ष १२ देखि २२ हजार रुपैयाँसम्म पाइने च्यांग्रा यो वर्ष भने १५ देखि २५ हजारसम्म पुगेको छ । पोहोरको तुलनामा पोखरामा धेरै च्यांग्रा भित्रिए पनि मुस्ताङतिरै महंगो परेको व्यापारीहरु बताउँछन् । मासु ब्यवसायी गोविन्द तिवारी पोखरामा दसैंमा च्यांग्रा नै खानुपर्छ भन्ने लहर बढिरहँदा भाउ पनि उर्लिएको बताउँछन् । पोखरामा यसपालि मासुको अभाव हुने लक्षण नदेखिएको उनले सुनाए । हिमदुत दैनिकमा प्रकाशित