पोखराको खानेपानीमा अत्यधिक कोलिफर्म भेटियो, महामारीजन्य रोगको खतरा


भरत कोइराला

पोखरा, १४ असोज/पोखरामा प्रयोग हुँदै आएको धाराको पानीमा कोलिफर्मको मात्रा अत्यधिक भेटिएको छ । बोरिङबाट निकालिएको पानीमा कोलिफर्मको मात्र नपाइए पनि सरकारी योजनाको धाराबाट वितरित पानीमा यसको मात्रा अत्यधिक पाइएको हो । पोखराको खानेपानीमा अत्यधिक कोलिफर्म भेटियो, महामारीजन्य रोगको खतरा जसका कारण पोखरामा महामारीजन्य रोगको खतरा बढी भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रहमा राष्ट्रिय स्वास्थ्य प्रयोगशालाका विज्ञ टोलीले पोखरा उपत्यकाको २० स्थानमा नमूना परीक्षण गरेको थियो । मनिपाल मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बोरिङबाट तानिएको पानीमा कोलिफर्मको मात्रा नपाइएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीले बताए ।

तर प्रमुख पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानी संस्थानबाट वितरित धाराको पानीमा प्रति एक सय मिलिलिटिरमा एक सय ८० सम्म कोलिफर्मको मात्रा पाइएको छ । विज्ञहरुका अनुसार, पानीमा एक देखि तीन सम्म कोलिफर्मको मात्रा भएका सन्तोषजनक मान्न सकिन्छ । चार देखि १० शंकास्पद र १० देखि माथि निकै खतरा मानिन्छ ।

पोखरामा मर्दी, कालिखोला लगायतका मुहानबाट पानी ल्याएर पोखरामा खानेपानी संस्थानले वितरण गर्दै आएको छ । खुल्ला स्रोतबाट उपचार नगरी सिधै पानी वितरण गरिएकाले सरकारी धाराको पानीबाट नै बढी खतरा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक केशवप्रसाद चापागाईंले बताए ।

पोखरा र लेखनाथका दुई सार्वजनिक धारा, पाँच स्थानमा सतहमुनिको पानी, तीनवटा सरकारी धारा, दुईवटा ट्यांकी र रिजर्भवायर, एउटा खोलाबाट सिधै ल्याएको धारो र सातवटा बोरिङ गरी २० वटा नमूना परीक्षण गरिएको बरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले बताए । पानीबाट नै धेरैजसो रोग लाग्ने भएकाले कहाँ के अवस्था छ, र के उपाय अवलम्बन गर्नुपर्छ भन्ने रणनीति बनाउन यो परीक्षण गरिएको र सम्बन्धित निकायमा लेखी पठाएको समेत उनले जानकारी दिए ।

पोखराका अधिकांश स्थानमा वितरण हुने पानी संकलन हुने ठाउँ विन्ध्यवासिनीको रिजर्भवायरको पानीमा कोलिफर्मको मात्रा पाँच पाइएको छ । तर त्यही पानी ग्राहकको धारासम्म पुग्दा कोलिफर्मको मात्रा एक सय ८० सम्म पाइएको छ । दशकौं अघिको वितरण प्रणाली, ढलसंगै खानेपानीको पाइप राखिनुजस्ता कारणले पानी प्रदूषित भएको स्वास्थ्यकर्मीको भनाई छ ।

पोखरामा मर्दिखोलाबाट १६ र २० इन्चको पाइपबाट दैनिक क्रमश एक करोड ६० लाख र दुई करोड २० लाख लिटर पानी भित्रन्छ । यसवाहेक कालिखोला र भोटीखोलाबाट पनि दैनिक ५० लाख र ३० लाख लिटर पानी भित्रन्छ । यसरी ल्याएको पानीलाई संस्थानले वितरण अघि उपचार गर्नतर्फ ध्यान भने दिएको छैन । खानेपानी संस्थान पोखरा कार्यालयका प्रमुख बुद्धरत्न महर्जन पोखरामा ल्याइने पानीलाई शुद्धिकरण गर्न ट्रिटमेन्ट प्लान्ट बनाउन लागिएको बताउँछन् ।

जापान सहयोग नियोग जाइकाले पोखराको खानेपानी वितरण प्रणाली सुधारका लागि दिन लागेको दुई अर्ब भन्दा बढी सहयोगमध्येबाट नै उक्त प्लान्ट बनाइने उनले जानकारी दिए । पोखराको पानीको मुख्य स्रोत मर्दीखोला मुहानमा प्लान्ट बनाउन २३ रोपनी जग्गा अधिग्रहण समेत गरिसकिएको छ । प्लान्टका लागि २५ करोड रुपैयाँ भन्दा बढी खर्च हुने र त्यसपछि भने पोखरामा वितरित पानीमा समस्या नआउने दाबी उनको छ ।

के हो कोलिफर्म ?
कोलिफर्म जीवाणुहरूको एक प्रकारको समूह हो, जसमा धेरै प्रकारका जीवाणुहरू पर्दछन् । यो समूह ३७ डिग्री सेल्सियस तापक्रम हुने प्राणीको शरीरमा समेत पाइन्छ । कोलिफर्म समूहभित्रका धेरै समूहमध्ये खास केही जीवाणुहरू मात्र दिसा–पिसाबमा पाइन्छ, जसलाई फिकल कोलिफर्म भनिन्छ । फिकल कोलिफर्मको एक प्रजाति ई–कोली मात्रै हानिकारक हो । तर, ई–कोली सबै अवस्थामा भने पाइँदैन । प्रायः प्रशोधित दूधमा देखिने कोलिफर्म ब्याक्टेरियाहरू गैरफिकल प्रजातिका हुन् । गाई भैंसी र मान्छेको आन्द्रामा पाईने कोलिफर्म पनि एउटा किटाणु नै हो । जुन मल त्याग गर्दा आउँछ र त्यसले मान्छेमा ज्वरो, पखाला, टाईफाईड पनि हुन सक्छ । कोलिफर्म ९० डिग्रीको तापक्रममा मर्छ । प्रायः दूध र पानी १०० डिग्री तापमानमा उम्लीन्छ ।