पोखरालाई अन्तर्राष्ट्रिय मापडण्डको सहर बनाइने : मन्त्री खड्का


पोखरा १२ असोज,

सहरी विकास मन्त्री डा. नारायण खड्काले पोखरालाई अन्तर्राष्ट्रिय मापडण्ड अनुसारको सहर बनाउने योजना छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय सहर बन्ने क्रममा यहाँ उठ्दै आएका बसपार्क, विमानस्थल, खानेपानी, सम्मेलन केन्द्र, सडक लगायतका संरचनाको निर्माण हुने जानकारी पनि दिनुभएको छ । पोखरा उद्योग बाणिज्य संघले उहाँको सम्मानमा शनिबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले अन्तर्राष्टिय सम्मेलन केन्द्रको लागि जग्गा उपलब्ध भएको र डिजाइन समेत भएकोले निर्माणको काम पनि थालिने जनाउनुभयो । संविधान निर्माणमा भएको ढिलाइले विकासमा प्रभाव पारेको जनाउँदै उहाँले संविधान निर्माण अहिलेको मूल दायित्व भएको दोहो¥याउनुभयो ।
कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखरालाई अन्तर्राष्ट्रिय मापडण्ड अनुसारको सहर बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले भोली हुने संघीय संरचनामा पोखरा क्षेत्रीय राजधानी बन्ने क्रममा रहेकोले पनि यहाँको पूर्वाधार निर्माणलाई महत्व दिनुपर्ने धारणा राख्नुभयो । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले बृहत्तर पोखराको विकासका लागि ठोस कार्यक्रम ल्याउन माग गर्नुभयो । पोखरा उद्योग बाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजुले संचालन गरेको कार्यक्रममा संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।