पर्यटन दिवसमा ‘मिनि स्ट्रिट फेस्टिवल’


पोखरा, ८  असोज
विश्व पर्यटन दिवसको अवसर पारेर आगामी असोज ११ गते शनिबार पोखराको लेकसाइडमा मिनि सडक महोत्सव गरिने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) का प्रथम उपाध्यक्ष चौबहादुर गुरुङले पर्यटक प्रवद्र्धन गर्न एकदिने सडक महोत्सव गर्न लागेको बताउनुभयो । मिनि सडक महोत्सवको यो नवौं संस्करण हो ।

‘पर्यटकीय सिजन सुरु हुने बेला भएकोले यसले थप आकर्षण बढाउनेछ’ मंगलबार आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘पोखरा आएका पर्यटकलाई यसले मनोरञ्जन दिलाउनेछ ।’ एकदिने महोत्सव समयका हिसाबले छोटो भएपनि यसको महत्व रहेको उहाँको भनाइ छ ।

लेकसाइडको बाराही चोकदेखि खहरेसम्म संचालन हुने महोत्सवमा व्यवसायीले सडकमा स्टल राख्नेछन् । त्यसबाहेक बाराहीचोक, टिटाईम रेस्टुरेन्ट अगाडि र हल्लनचोकमा स्टेज बनाएर विभिन्न सांगितिकि कार्यक्रममार्फत मनोरञ्जन प्रदान गरिनेछ । महोत्सवमा आकर्षण बढाउन सडकमै विभिन्न रेस्टुरेन्ट खडा गरिनेछ । त्यस्तै राष्ट्रियस्तरका कलाकारको प्रस्तुती, सारङ्गी र पञ्चेबाजा सहितको सांस्कृतिक कार्यक्रम पनि गरिनेछ ।

विभिन्न विषयसँग सम्बन्धित वृत्तचित्र प्रदर्शनी, हस्तकलाका सामग्रीको प्रदर्शन सहित दैविशक्तिको झाँकी प्रस्तुती पनि रहने उहाँले बताउनुभयो ।महोत्सवको पुर्वसन्ध्यामा अघिल्लो दिन फेवातालको जलकुम्भी झार निकालिने पनि उहाँले बताउनुभयो ।सानो आकारको सडक महोत्सव पनि अहिले नयाँ प्रोडक्टको रुपमा विकास भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्यबहादुर भुजेलले बताउनुभयो ।