अनशनस्थलमा अधिकारीको मृत्युप्रति सञ्जालको ध्यानाकर्षण


पोखरा,  असोज
द्वन्द्वकालमा आफ्ना छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनसनमा बसेका गोरखा फुजेल–७ का ५६ वर्षीय नन्दप्रसाद अधिकारीको हिजो अनशनस्थलमै निधन भएको घटनाप्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्जालले एक प्रेस विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण भएको जनाएको छ । आज जारी गरिएको विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको गरिएको छ । छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले हत्या गरेको र घटनाका दोषीहरुलाई कानूनी कारबाही र न्यायको माग गर्दै ११ महिना अर्थात ३ सय ३३ दिनदेखि आमरण अनशनरत नन्दप्रसाद अधिकारीको मागप्रति राज्यको उदासीनताका कारण मृत्यु भएको घटनाक्रमले पुष्टि गरेको सञ्जालले ठहर गरेको छ ।

अहिंसात्मक सत्याग्रहको रुपमा अनशन बसेका अधिकारीले अनशनकै अवस्थामा मृत्युवरण गर्नुपरेको घटनाले नेपालको समग्र न्याय प्रणाली र मानवअधिकारप्रति राज्यले गरेको प्रतिवद्धतामाथि नै प्रश्नचिन्ह उब्जाएको विज्ञप्तिमा उल्लेख छ ।‘न्यायको खोजीमा मृत्युवरण गर्नपुगेको यो घटनाले कुनैपनि नागरिकले न्याय प्राप्तिका लागि गरिएको प्राण त्यागप्रति मुलुकको मात्र नभई विश्वको ध्यानाकर्षण गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
सञ्जालले उनीसँगै अनशनरत पत्नी गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था समेत गम्भीर रहेकोले उनकोे जीवन रक्षा र न्याय प्राप्तिको विश्वास दिलाउनु सरकारको पहिलो दायित्व भएकोले जीवन रक्षाका लागि राज्यपक्षबाट आवश्यक कदम चाल्नका सरकारसँग विज्ञप्तिमा माग गरेको गरिएको छ । कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई अनुसन्धान प्रक्रिया अगाडी बढाउन समेत विज्ञप्ति मार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।