एलपी ग्यास बिचमै झिकेर ठगी गर्ने गिरोह पक्राउ


पोखरा  असोज

तपाईको घरमा खाना पाकाउने एलपी ग्यासमा तौल कम हुनु र ग्यास चाडै सकिनुको रहस्य खुलेको छ । डिपोबाट ग्यास लैजाने र बिचमै ग्यास निकालेर खाली सिलिण्डर भर्दै अतिरिक्त सिलिण्डर बनाई कम तौलको ग्यास बेच्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । अतिरिक्त पैसा कमाउने लोभमा उपभोक्तालाई ठगी गर्ने ग्यास बिक्रेतालाई मंगलवार प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

पोखराको रानीपौवामा रहेको डिपोबाट ग्यास लिएर बजार लैजाने क्रममा पोखरा–१२ चापापानी स्थित कोठामा भरिएको ग्यास सिलिण्डरबाट खाली सिलिण्डरमा भर्दै अतिरिक्त सिलिण्डर तयार गर्दै गरेका एक जना पक्राउ परेका छन् ।दुई जना फरार भने प्रहरी आएका थाहा पाएपछि भागेका छन् । कृति ईन्टरप्राईजेजबाट ट्याक्टरमा ग्यास लिएर चापापानी स्थित कोठामा भरिएको सिलिण्डरहरुबाट आंशिक रुपमा ग्यास अर्को खाली सिलिण्डरमा भर्ने र बजारमा ग्यासको मात्रा घटाएर बेच्न लैजाने गरेका चालक सञ्जय सुनार, समशेर लिम्बु र सुनिल लामा मध्य सुनिल लामा पक्राउ परेका हुन् ।

चाल सुनारकी श्रीमतिलाई प्रहरीले पक्राउ गरेको छ । सुनारले २५ सय रुपैया प्रति महिनामा कोठा भाडामा लिएर बिगत तीन महिनादेखि यस्तो कार्य गर्दै आएको पक्राउ परेका लामाले बताए । दैनिक ईन्टरप्राईजेजबाट ग्यास लिएर जाने र बिचमा तौल घटाएर अर्को सिलिण्डर बनाउदै बजारमा बेच्न लाने गरेको कास्की प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए ।

स्थानियले खबर गरेपछि गएको प्रहरी टोलिले ३४ थान भरिएको सिलिण्डर, खाली सिलिण्डर ५ थान, ग १ थ ४२६ नम्बरको एउटा ट्याक्टर, रेगुलेटर ९ थान, सेतो क्याप २७ थान, सानो सिल याप ८१ थान, पेचस थान २, सानो चकु एक थान, रेञ्ची एक थान सहित ग् ४ प २१३२ नम्बरको मोटरसाईल बरामद गरेको छ ।

ईन्टरप्राईजेज धनि किरण श्रेष्ठले बिहान ३८ थान भरी सिलिण्डर बेच्नको लागि पठाएको बताए । बिगत ३ बर्षदेखि सुनार उनको काम गर्दै आएका थिए । बजारमा बेच्न लगेको ग्यास बिचमा यसरी अबैध रुपमा निकालिन्छ भन्ने बारे आफुलाई जानकारी नभएको श्रेष्ठले बताए । उनले कोसी, शक्ति र गृहलक्ष्मी ग्यासको डिपो सञ्चालन गरिरहेका छन् ।