अधिकारीको निधन प्रति गम्भीर ध्यानाकर्षण


पोखरा, ७ असोज/द्वन्द्वकालमा आफ्ना छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनसनमा बसेका गोरखा जिल्ला फुजेल–७ का ५६ वर्षीय नन्दप्रसाद अधिकारीको ०७१ असोज ६ गते अनशनस्थलमै मृत्यु भएको घटनाप्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्जालले असोज ७ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण भएको जनाउदै शोकको घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले हत्या गरेको र घटनाका दोषीहरुलाई कानूनी कारबाही र न्यायको माग गर्दै ११ महिना अर्थात ३३३ दिनदेखि आमरण अनशनरत नन्दप्रसाद अधिकारीको मागप्रति राज्यको उदासीनताका कारण मृत्यु भएको घटनाक्रमले पुष्टि गरेको सञ्जालले ठहर गरेको छ ।

अहिंसात्मक सत्याग्रहको रुपमा अनशन बसेका अधिकारीले अनशनकै अवस्थामा मृत्युवरण गर्नुपरेको घटनाले नेपालको समग्र न्याय प्रणाली र मानवअधिकारप्रति राज्यले गरेको प्रतिवद्धतामाथि नै प्रश्नचिन्ह उब्जाएको विज्ञप्तिमा उल्लेख छ । न्यायको खोजीमा मृत्युवरण गर्नपुगेको यो घटनाले कुनैपनि नागरिकले न्याय प्राप्तिका लागि गरिएको प्राण त्यागप्रति मुलुकको मात्र नभई विश्वको ध्यानाकर्षण गरेको छ ।

सञ्जालले उनीसँगै अनशनरत पत्नी गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था समेत गम्भीर रहेकोले उनकोे जीवन रक्षा र न्याय प्राप्तिको विश्वास दिलाउनु सरकारको पहिलो दायित्व भएकोले जीवन रक्षाका लागि राज्यपक्षबाट आवश्यक कदम चाल्नका लागि हामी नेपाल सरकारसँग माग गरेको छ । कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई अनुसन्धान प्रक्रिया अगाडी बढाउन समेत विज्ञप्ति मार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।