विन्ध्यवासिनी मन्दिरमा पुजारीको ब्रम्ह्लुट, भेटी जति आफ्नै खल्तीमा


पोखरा ७  असोज/नेपालमा गणतन्त्र आए पछि राजाको छोरा राजा हुने जमाना गइसक्यो। मुलुकमा गणतन्त्र आएको यतिका वर्ष भए पनि पोखराको प्रसिद्ध मन्दिरमा भने यो परम्पराको अवशेष बाँकी छ र यहाँ सधैँ पुजारीको सन्तान पुजारी नै भइरहेका छन्।

विन्ध्यवासिनी मन्दिरमा कुनै जमानामा आफ्ना पुर्खा पुजारी थिए भन्ने आधारमै एउटा परिवार त्यही कर्म गरिरहेको छ र भक्तजनले चढाएको भेटी जति आफ्नो निजी सम्पत्ति बनाइरहेको छ। विन्ध्यवासिनी मन्दिरमा भक्तजनले चढाएको भेटी महिनामा ५ लाख रुपैयाँ जति संकलन हुने अनुमान छ। मन्दिर बाहिर हामीले राखेको दानपात्रमा त एक लाख जति उठ्छ भने माताकै चरणमा भेटी चढाउने त त्योभन्दा धेरै गुणा बढी हुन्छन् नै, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले सोमबार भने। दानको पैसाबाटै समितिले मन्दिरको रेखदेख गर्ने, बिजुली—पानीको पैसा तिर्ने र आवश्यक बेला मर्मत सम्भार लगायत काम गर्छ ।

मन्दिरका मूल पुजारी रुद्रनाथ पौडेल हुन् । त्यसबाहेक श्रीराम, बाबुराम, माधव, कालिका, कृष्णप्रसाद पौडेल पुजारी छन् । रुद्र र अरु भाइभाइका छोराहरु हुन् । आफ्ना बाजे पुजारी भएकै आधारमा मन्दिरमा पूजा गर्ने पालो उनीहरुले अंशवण्डा गरेका छन् । एक भाइका छोरा रुद्र एउटैमात्र भएकाले उनको पालो वर्षमा ६ महिना आउँछ भने अरुहरुको ६ महिना पर्छ । पहिलाको जमानामा राजाका छोरा राजा हुन देश भागवण्डा गरेजस्तो गणतन्त्रको युगमा पनि उनीहरु पुजारीकै सन्तान भएकाले मात्रै पुजारी बनेका छैनन्, मन्दिरको आम्दानी पनि भागवण्डा गरिरहेका छन् ।

कास्कीका तत्कालीन राजा सिद्धिनरंिसह शाहले लालमोहर लगाएर दिएकै भन्ने आधारमा पौडेल दाजुभाइहरुले विन्ध्यवासिनी मन्दिरमा पुजारी बनेर त्यहाँको भेटी लिने गरेका हुन् । ऊ जमानामा एउटा राजाले एकजनालाई दिएको त्यतिखेरको नियुक्ति उसका सन्तानमा सर्दैसर्दै आउँछ कि आउँदैन रु मन्दिर समितिका सचिव श्रेष्ठ भन्छन्, देशभरकै मन्दिरमा यो समस्या छ, एकमुष्ठ समाधान गर्ने गरी कानुन लाउनु आवश्यक छ । उनका अनुसार कानुन ल्याउन हरेकपटक आउने संस्कृति मन्त्रीहरुले आश्वासन दिए पनि काम हुन सकेको छैन ।

मन्दिरका मूल पुजारी रुद्रनाथ पौडेल सरकारले गर्ने कुनै पनि निर्णय स्वीकार्य हुने बताउँछन् । देउताको विकास हुन्छ भने हामी यहाँको केही टिपेर लैजाने पक्षमा छैनौं, उनले सोमबार भने, तर अरुले भनेजस्तो यहाँ आम्दानी हुँदैन । उनले पुस्तौनीदेखि पूजाआजा गरेरै जीवन निर्वाह गरेकाले आफूहरुलाई गरिखाने सामान्य व्यवस्था गरिदिए स्वीकार्य हुने बताए । समिति पनि ती पुजारीहरुलाई हटाउने नै भन्ने भन्दा पनि तलबमा राख्ने पक्षमा छ । भेटी पुजारीको सट्टा सामाजिक काममा प्रयोग गर्ने समितिको योजना छ । निकट भविष्यमा एम्बुलेन्स चलाउने योजना बनाएको समितिले त्यसका लागि कोरियाली मोटर कम्पनी हुन्डाई र ओम फाइनान्सको सहयोग लिएको छ ।

विन्ध्यवासिनी परिसरमै शिव मन्दिर पनि छ । त्यसको आम्दानी भने समितिले नै लिन्छ र सामाजिक तथा धार्मिक कार्यमा खर्चन्छ । २५ जना बटुकलाई खानेबस्ने पढ्ने सुविधा छौं, श्रेष्ठले भने, ७ (८ जना कर्मचारी पनि पालेर बेलाबखत आउने सन्तमहन्त पाहुनालाई पनि खानेबस्ने व्यवस्था गर्छौ । तर समितिलाई रुद्रनाथ पौडेलले छ महिनाको दुई हजारका दरले वार्षिक १२ हजार बुझाउँछन् । अन्य पाँच जनाले पालोअनुसार मासिक मासिक १५ सयका दरले नौ हजार दिन्छन् । दैनिक कम्तीमा एक हजार र बढीमा चाररपाँच हजारसम्म मन्दिरमा भक्तजन आउँछन् ।

मुलुककै प्रमुख मन्दिर पशुपतिनाथका लागि भने सरकारले एउटा ऐन नै बनाएर त्यसअनुसार सञ्चालक समिति र पदाधिकारी नियुक्त गर्दै आएको छ । तर अरु मन्दिरको हकमा भने कानुन अभाव छ ।