पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्थमन्त्री बाधक, रहस्य खुल्यो


रामकृष्ण ज्ञवाली
पोखरा, ६  असोज । अर्थमन्त्री रामशरण महत बाधक बनेका कारण पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य थालनी हुन नसकेको रहस्य खुलेको छ । प्रधानमन्त्री शुशिल कोइरालाले छिटो भन्दा छिटो पोखरामा विमानस्थल निर्माण कार्य शिलान्यास गर्न चाहेको भए पनि अर्थमन्त्री महतकै असहयोगका कारण सम्भव हुन सकिरहेको छैन ।

श्रोतका अनुसार एशियाली विकास बैंकको चाहना अनुसार अर्थमन्त्री महत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाधक बनेका हुन् । चीनको एक्जिम बैंक ‘सफ्ट लोन’ दिन तयार छ । इपिसी मोडल अन्तरगत निर्माण गर्ने ठेकेदार चयन भैसकेको छ । अब ऋण सम्झौताका लागि अर्थमन्त्रालयले एउटा पत्र लेखे मात्र निर्माण कार्य सुरु हुनेछ तर विभिन्न बाहाना बनाएर अर्थमन्त्रालयले पत्र पठाउन ढिलाई गरेको छ ।

अर्थमन्त्रालयले आनाकानी गरिरहेको थाहा पाएर उनैलाई भेट्न गएको पोखराको एक प्रतिनिधि मण्डलसँंग अर्थमन्त्री महतले त्यस्तै गैर जिम्मेबार कुरा गरे । पोखरा विमानस्थल सरोकार समितिको नेतृत्वमा गएको टोलीलाई अर्थमन्त्री महतले ‘चीनकै पैसाले बनाउनु पर्छ भन्ने के छ ?’ भन्दै अरु विकल्प खोज्छु भनेका थिए । उनले चीनले दिएको सहयोग किन अस्वीकार गर्ने भन्ने प्रष्ट बताएनन् । तर घरी नेपालकै पैसाले बनाउने त घरी एशियाली विकास बैंकबाट रकम जुटाएर बनाउछु भनेका थिए ।

प्रतिनिधि मण्डलमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, सरोकार समितिका अध्यक्ष कृष्णमोहन श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा लगायतका थिए । “अर्थमन्त्री पूरै नेगेटिभ पाउँदा हामी त अचम्ममा पर्यौं ।’ प्रतिनिधि मण्डलमा सहभागीहरुले भने ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अर्थमन्त्री महत एशियाली विकास बैंकको चाहना अनुसार नाचिरहेको बुझेका छन् । उनले अर्थमन्त्री महत एडिबीको एजेन्ट भएको दावी समेत गरेका छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकृयतापूर्वक लागिरहेका मुल्मी अर्थमन्त्रीलाई पछिल्लो पटक काठमाडौंंमै गएर भेटेपछि यस्तो निस्कर्षमा पुगेका हुन ।

आइतबार पोखरा आएका उद्योग मन्त्री महेश बस्नेतको स्वागतार्थ पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष मुल्मीले अर्थमन्त्रीलाई ‘एशियाली बैंंकको एजेन्ट’ को संज्ञा दिए । “प्रधानमन्त्री असोज महिना भित्रै शिलान्यास गर्ने वातावरण मिलाउनुस् भन्दै हुनुहुन्छ । अर्थमन्त्री नचाहिने बाहाना बनाएर ऋण सम्झौताका लागि पत्र पठाउन मान्दैनन् ।’ मुल्मीले भने–“देशको अर्थमन्त्री भएर एडिबीको एजेन्ट बन्न पाइन्न ।’

आइतबारै पोखरा आएका सभासद रविन्द्र अधिकारीले पनि अर्थमन्त्रीकै असहयोग र बाहानाबाजीकारण विमानस्थल शिलान्यास ढिलाई भएको बताए । “प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बोलाएरै किन रोकेको ? छिटो गर्नुस, मैले शिलान्यास गर्ने हो भन्नु भएको छ,।’ सभासद अधिकारीले भने–“तर अर्थमन्त्रीले विभिन्न बाहाना बनाएर टारिरहनु भएको छ ।’

एशियाली विकास बैंक दक्षिण एशियामा इपिसी मोडेल अन्तरगत ठुला ठुला आयोजनाहरु सञ्चालनको पक्षमा नभएको महासंघका पूर्व अध्यक्ष मुल्मीको बुझाई छ । इपिसी मोडल अन्तरगत सम्झौता भएपछि जतिमा बनाउने ठेक्का लिइन्छ सोही रकममा निर्माण कार्य सकेर बुझाउनु पर्छ । एडिबी बिओके मोडेल अनुसार बनाउन चाहान्छ । विओके मोडल अनुसार निर्माण भएको आयोजनाको राम्रो उदाहरण मेलम्ची खानेपानी आयोजना हो । १८ अरबमा निर्माण सक्ने गरी ठेक्का दिइएको भए पनि हालसम्म सो आयोजनाको लागत करिब ६२ अरब पुगेको छ । तर अझै सम्पन्न भएको छैन ।

‘चिनले इपिसी मोडल अन्तरगत दक्षिण अफ्रिकामा लगानी गरेर तरक्की गरेको छ । सोही मोडल दक्षिण एशियामा पनि भित्र्याउने चिनिया चाहाना छ ।’ मुल्मीले भने–‘विओके मोडलबाट खान पल्केकाहरु इपिसी मोडेल अन्तरगतको आयोजनाको विपक्षमा लागेका हुन भन्ने मलाई लागेको छ ।’

सुरुमा अर्थमन्त्री महतले पुरानो ठेक्का भन्दा ५० मिलियन डलर मूल्य बढेको बाहाना बनाएर लोन सम्झौता पत्र लेख्न अस्वीकार गरे । त्यसपछि प्रधानमन्त्री कोइरालाले दवाव दिए पछि महतले इन्जिनियरिङ्ग अध्ययन सस्थान र मन्त्रालयका प्राविधिकहरुको टोलीलाई अध्ययन पठाए । उनीहरुले मुद्रास्फिती, मूल्यबृद्धि लगायतको कारण देखाउदै ७४ मिलियन डलर बढ्ने प्रतिवेदन दिएका छन् । “अर्थमन्त्रीले ५० मिलियन बढेकोमा शंका गर्दै प्राविधिकहरुलाई अध्ययन गर्नु पठाउनु भयो, प्राविधिकको टोलीले उल्टै ७४ मिलियन डलर बढ्नु पर्ने प्रतिवेदन दिएको छ, तैपनी ऋण सम्झौता पत्र पठाइदैन ।’ सभासद अधिकारीले अर्थमन्त्री कै नियत माथि प्रश्न उठाएका छन् ।
‘विमानस्थल हाम्रो लक्ष्य’
पोखरा, ५ असोज । संसदीय विकास समितिका सभापति एवं सभासद रविन्द्र अधिकारीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो लक्ष्य भएको बताएका छन् । जुनसुकै अवस्थामा पनि विमानस्थल बनाएरै छाड्ने उनको प्रतिवद्धता छ ।
आइतबार प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति अधिकारीले सानो–तिनो बाहानाले विमानस्थल शिलान्यासमा ढिलाई भएको बताए । “प्रधानमन्त्री एकदमै सकारात्मक हुनुहुन्छ, अर्थमन्त्रालय बाधक बनेको छ ।’ अधिकारीले भने–“अहिले हामीसँंग अर्थमन्त्रीलाई बोलाउने र सोध्ने अधिकार छ, पोखरा एयरपोर्ट हाम्रो लक्ष्य हो, बनाई छाड्छौं ।’
पोखरामा विमानस्थल निर्माण नहोस् भन्न चाहानेहरुले नै आपूmलाई बदनाम गर्न खोजेको अधिकारीले बताए । केही सञ्चार माध्यमले पोखरा विमानस्थल बनाउन ठेक्का दिने क्रममा सभासद अधिकारीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
‘सुरुमा एउटा अनलाइनले यत्तिकै लेखेछ, मैले उनीसँंग कुरा गर्दा ६ घण्टा पछि हटाएँ भने । पोखरामा पनि एउटा पत्रिकाले छापेछ । उनका सम्पादकसँंग कुरा गर्दा ‘म नभएको बेलामा भाइहरुले नचाहिले कुरा हालेछन्’ भन्दै थिए ।’ अधिकारीले भने–‘बेतुकका कुराको खण्डन गर्दै हिँड्नु आवश्यक नठानेर गरिन ।’ आपूm टाढाको यात्रामा हिँडेको मान्छे भएको बताउँदै उनले बाटोमा कुकुर कराए भन्दैमा ढुङ्गा हान्दै धपाउन थाल्ने हो भने कही पनि नपुगिने बताए । उनले आपूm जहिले पनि प्रेस स्वतन्त्रताको पक्षमा रहेको दावी गरे । विकास समितिका सभापति अधिकारीले आफुहरुले देशका ठुला आयोजना सञ्चालनमा जोड दिने बताए । नौबिसेबाट काठमाण्डौं जाने सुरुङ्ग मार्ग जापानले बनाउने निश्चित भएको बताउदै अब यस्तै खालका ठूला–ठूला योजना सम्पन्न गरेर देशमा आर्थिक क्रान्ति गर्ने उनको भनाइ थियो । पोखराबासीलाई शुद्ध खानेपानी ख्वाउनका लागि जाइकाले दोश्रो चरणको कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी पनि अधिकारीले दिए । त्यस्तै चक्रपथ निर्माणलाई प्राथमिकता दिएको उनको भनाई थियो । सभासद अधिकारीले सर्बपक्षीय सम्मेलनमा सहभागी नभएर नेकपा–माओवादीले ठुलो भुल गरेको बताए । माओवादीले आन्तरिक विवादको कारण पनि सम्मेलनमा भाग नलिएको बताउदै भने(“यो खेलमा माओवादी हार्यो ।’
देशमा नयाँ संविधान बन्ने कुरामा ढुक्क हुन आग्रह गर्दै अधिकारीले असौज १४ सम्म दलहरुबीच सहमती कायम हुने विश्वास व्यक्त गरे । “सहमति नभएमा बहुमतको प्रकृयाबाट भए पनि संविधान बन्छ, यस्तो वातावरण बन्दै गएको छ ।’ अधिकारीको भनाई थियो । प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सन्तोष अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।