निर्धारित समयमा संविधान जारी हुन्छ- नेम्वाङ


चापागाउँ (ललितपुर) – संविधानसभाका अध्यक्ष सुवासचन्द नेम्वाङले सुपारी–अलैँची व्यवसायमा दिगोपन ल्याउन प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल सुपारीखेती विकास संस्था र नेपाल अलैँची व्यवसायी महासङ्घद्वारा आयोजित ‘अलैँची’ एवम् ‘सुपारी संसार’–२०७१ नामक स्मारिका लोकार्पण गर्दै उक्त कुरा बताउनुभएको हो ।

समस्याको बाबजुद पनि निरन्तर व्यवसायमा लागिपरेका कृषकको कार्य सकारात्मक भएको उल्लेख गर्दै यसले देशको विकासको निम्ति सही दिशा निर्धारण गर्न सकिनेमा अध्यक्ष नेम्वाङ विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा अध्यक्ष नेम्वाङले माघ ८ गतेमा देशले नयाँ संविधान पाउनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले पहिलो संविधानसभाले गरेका कामहरु दोस्रो संविधानसभाले ग्रहण गरिसकेको अवस्थामा दलहरुको प्रतिबद्धता र लगनशील रहनसकेमा निश्चय पनि निर्धारित समयमा संविधान जारी हुने बताउनुभयो । संविधान निर्माणका कामहरु द्रूतगतिमा भइरहेकाले मस्यौदा र सम्वाद समितिमा रहनुभएका सदस्यहरुलाई दसैँको समयमा पनि राजधानीमा नै रहेर काम गर्न आग्रह गर्नुभएको छ ।

पूर्वसचिव डा हरि दाहालले सुपारी व्यवसायीको समस्याको समाधानका निमित्त सरकारका तर्फबाट आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समस्या समाधानका लागि सरकारले आवश्यक नीति तयार गरी कार्यान्वयन गर्नसकेमा व्यवसायीले राम्रो आम्दानी गर्नसक्ने विश्वास गर्नुभयो ।

यसैगरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत श्रीप्रसाद घिमिरेले नेपालमा बर्सेनि ६०० अर्ब बराबरको व्यापार घाटा हुने गरेको जानकारी दिनुभएको छ ।

नेपालबाट वार्षिकरुपमा रु चार अर्ब बराबरको अलैँची निर्यात हुने गरेको चर्चा गर्दै सुपारीको समेत राम्रो निर्यात भइरहेको अधिकृत घिमिरेले बताउनुभयो । इलाम, पाँचथर, भोजपुर, गोरखा, लमजुङमा अलैँचीको राम्रो उत्पादन हुन सकिने बताउँदै देशभरिमा ३८ जिल्लामा यस व्यवसायीको राम्रो सम्भावना रहेको घिमिरेले बताउनुभयो ।

नेपालमा मात्र वार्षिकरुपमा करिब १३ हजार मेट्रिक टन बराबरको सुपारी उत्पादन भइरहेको नेपाल सुपारीखेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले बताउनुभयो । जसमध्ये नौ हजार मेट्रिक टन झापामा मात्र सुपारी उत्पादन हुने गरेको उहाँको तर्क छ गर्दै नेपालको करिब १८ जिल्लामा सुपारीखेती हुनसक्ने सम्भावना रहेको छ । सो अवसरमा अध्यक्ष नेम्वाङले सुपारी–अलैँची व्यवसायमा उच्च योगदान पुर्‍याउनु हुने पूर्व प्रशासक पुरुषोत्तम ओझा, डा हरि दाहाल, भगवतीकुमार काफ्ले, बद्रीप्रसाद ओझालगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । रासस