बन्द उद्योग सञ्चालन पहिलो प्राथमिकतामा: मन्त्री बस्नेत


फलेवास (पर्वत) – उद्योग मन्त्री महेश बस्नेतले सञ्चालन हुन नसकेर बन्द भएका उद्योगलाई सञ्चालन गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपा (एमाले) पर्वत तथा युवा सङ्घ पर्वतले आज आयोजना गरेको पत्रकार भेटघाटमा विदेशी उत्पादनको व्यापक बजारीकरणले स्वदेशी उद्योग फस्टाउन नसकेको भन्दै उहाँले सरकारी कर्मचारी तथा शिक्षकलाई स्वदेशी पोसाक अनिवार्य बनाएर हेटौँडा कपडा उद्योगसँगै अन्य स–साना उद्योग सञ्चालनमा ल्याइने बताउनुभयो ।

आफू युवा पुस्ताको नेतृत्व गर्दै मन्त्री भएको बताउँदै मन्त्री बस्नेतले युवालाई उद्योगको क्षेत्रमा क्रियाशील गराउन नयाँ योजना विस्तार गर्ने उल्लेख गर्नुभयो । कम्पनी रजिष्टारको कार्यालय काठमाडौँमा मात्रै सीमित रहेको र सेवाग्राही तथा उद्योग व्यवसायीले समस्या भोग्नु परेको तीतो यथार्थ औँल्याउँदै उहाँले केही दिनमा नेपालका पाँचै विकास क्षेत्रमा कम्पनी रजिष्टारको कार्यालय विस्तार गर्ने योजना रहेकोसमेत जानकारी दिनुभयो ।

कार्यक्रममा युवा सङ्घ पर्वतले सङ्कलन गरेको रु ५७ हजार ३०० राहत रकम पहिरो पीडितलाई हस्तान्तरण गरिएको थियो । मन्त्री बस्नेतले गत भदौ ११ गते कुश्मा नगरपालिका–१८ मा पहिरोमा परी एक छोरी र दुई नातिनी गुमाएका हरिलाल चापागाईंलाई सो रकम प्रदान गर्नुभएको हो ।

मन्त्री बस्नेतलाई सम्मान

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरले नवनियुक्त उद्योग मन्त्री महेश बस्नेतलाई आज सम्मान गरेको छ । प्याब्सन भक्तपुरले कटुञ्जेस्थित आफ्नै कार्यालयमा आज आयोजना गरेको सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष राजकुमार महर्जनले सम्मानपत्रमार्फत सम्मान गर्नुभयो ।

सम्मान ग्रहण गर्दै मन्त्री बस्नेतले भक्तपुरको शिक्षा क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै शैक्षिक संस्थालाई सेवामुखी आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व एवम् प्याब्सनका पूर्व अध्यक्ष तथा सभासद् उमेश श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा सभासद् श्रेष्ठ र प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले विभिन्न सङ्घसङ्गठनका नाममा निजी विद्यालय माथि हुने बन्द, हड्ताल, चन्दा आतङ्क र प्रहारलाई सरकारले रोक्नुपर्ने औँल्याउनुभयो । रासस