भट्टराई नेतृत्वको राजनीतिक संवाद समिति पुनः सक्रिय


काठमाडौँ, ५ असोज । संविधानसभाको ‘संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले आफूलाई थप गरिएको समयभित्र संविधानका अन्तरवस्तुमा सहमति जुटाउने प्रयासलाई पुनः निरन्तरता दिएको छ।
सहमतिका लागि यही असोज १४ गतेसम्मको समयसीमा पाएको समितिको आज बसेको बैठकले दलहरूबीच औपचारिक र अनौपचारिक छलफल गरी सहमति जुटाउने निर्णय गरेको छ।

बैठकपछि समितिका सभापति डा बाबुराम भट्टराईले आफूहरूले सीमित समय बाँकी रहेकाले सहमति लागि अहोरात्र लागिपर्ने बताउनुभयो । उहाँले समितिको अर्काे बैठक असोज ८ गतेका लागि राखिएको र त्यस दिनसम्ममा अनौपचारिक र औपचारिक छलफल गरेर निष्कर्ष निकाल्न कोसिस गर्ने जनाउनुभयो।

राज्य पुनःसंरचना, शासकीय स्वरूपको निर्धारण र शक्तिको बाँडफाँड, न्याय प्रणालीलगायतका विषयमा शीर्र्ष नेता र सम्बन्धित दलसँग अनौपचारिक छलफल गर्ने जिम्मेवारी समितिले सभापति डा भट्टराईलाई नै जिम्मा दिएको छ। यस्तै, समितिका यसअघिका विवाद समाधान उपसमिति, प्रारम्भिक वार्ता समितिलाई पनि पूर्ववत् जिम्मेवारीको कार्य गर्ने जिम्मेवारी दिइएको छ।

समितिको कार्य अवधि गत भदौ २१ मा सकिएपछि हालसम्मको प्रतिवेदन संविधानसभामा पेस गरिएको थियो । संविधानसभाको यही असोज २ गतेको बैठकले सहमति भएका विषयलाई मस्यौदा समिति र सहमति हुन बाँकी विषय सम्वाद समितिमा पुनः पठाउने निर्णय गरेको थियो। रासस