कार्यतालिकाअनुसार काम गर्न दलहरु सहमत असोज १४ भित्र टुङ्गोमा पुग्ने


चितवन ५ असोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलबीच सहमति हुन नसकेका विषय यही असोज १४ भित्र टुङ्गोमा पुग्ने बताउनुभएको छ ।

काँग्रेस चितवनका सचिव सुनिल श्रेष्ठको १२ औँ दिनको पुण्यतिथिका अवसरमा नारायणगढमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले तोकिएको समयमा संविधान बन्नका लागि कार्यतालिकाअनुसार काम गर्न दलहरु सहमत रहेको बताउनुभयो ।

दलबीच कुरो मिल्न नसकेका सङ्घीयता, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषय टुङ्गोमा पु¥याउनका लागि व्यापक छलफल भइरहेको उहाँले बताउनुभयो । नेता पौडेलले प्रतिनिधिसभाप्रति उत्तरदायी कार्यकारी प्रमुख प्रधानमन्त्री बनाउने विषयमा सहमति नजिक पुगेको पनि बताउनुभयो । पुरानो विषय लिएर सदन अवरुद्ध गरेकामा प्रतिपक्षको आलोचना गर्दै उहाँले सबै कुरालाई सहमतिबाट समाधान निकाल्न सकिने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका काँग्रेस चितवनका सचिव सुनिल श्रेष्ठका छोराछोरीको पठनपाठनको जिम्मा पार्टीले लिने जानकारी दिनुभयो । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, किशोरसिंह राठौर, गोविन्द भट्टराई, बद्री पाण्डे, प्रदीप पौडेललगायतले श्रेष्ठले देश र पार्टीका लागि पु¥याएको योगदानबारे बताउनुभएको थियो । श्रेष्ठको गत भदौ २५ गते हृदयाघात भई निधन भएकोे थियो । रासस