वैद्य निकटको अखिलक्रान्तिकारीद्धारा ८ हजार नीजि विद्यालय बन्द


काठमाडौं ३ असोज-

नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हड्तालका कारण निजी विद्यालयमा सञ्चालन भइरहेको परीक्षा प्रभावित भएको छ । वृद्धि भएको शुल्क फिर्ताको माग राखेर आन्दोलनमा रहेको अखिल क्रान्तिकारीले आजदेखि तीन दिनसम्म मुलुक भरिका निजी विद्यालयमा शैक्षिक हड्ताल आह्वान गरेको हो । विद्यालयहरू बन्द भएपछि जारी परीक्षा पनि प्रभावित भएको छ ।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर के.सी.ले अखिल क्रान्तिकारीको शैक्षिक आन्दोलनका कारण परीक्षा स्थगित गरेर विद्यालय बन्द गर्नु परेको बताए । ‘उहाँहरूले विद्यालय बन्द गर्न दवाव दिनु भयो । हामीले बन्द गर्न बाध्य भयौँ,’ उनले भने, ‘राज्यले पनि यो विषयलाई ध्यान दिनुपर्ने हो ।’
अखिल क्रान्तिकारीको शैक्षिक आन्दोलनले लाखौ विद्यार्थीको भविष्यमा खेलवाड भएको प्याब्सन अध्यक्ष केसीको भनाइ छ । उता, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले शिक्षाका नाममा हुने लुटलाई अन्त्य गर्नुपर्ने बताए । ‘शिक्षाका नाममा लुट गर्नु भएन,’ उनले भने, ‘वृद्धि भएको शुल्क फिर्ता दिनुपर्छ । पहिला भएका सहमति कार्यान्वयन गर्नुपर्छ ।’

अखिल क्रान्तिकारीको आन्दोलनका कारण देश भरिका करिव आठ हजार निजी विद्यालय बन्द भाएका छन् । माग पुरा गराउन दवाव दिने उदेश्यले अखिल क्रान्तिकारीले असोज ५ गतेसम्म विद्यालय बन्द गराएको जनाएको छ । अखिल क्रान्तिकारीले जेठ ७ गते बढेको शुल्क लिने प्याब्सन र शिक्षा विभागसँग गरिएको सम्झौता कार्यन्वयन नगरेको भन्दै विद्यायल बन्द गराएको हो ।
क्रान्तिकारीका अध्यक्ष रसाइलीलले सहमति गरेको कुरा कार्यन्वयन नगरेपछि बाध्य भएर विद्यालय बन्द गर्नु परेको जानकारी दिए । ‘जेठ ७ गतेको सहमति निजी विद्यालयहरूले कार्यन्वयन गरेनन्,’ उनले भने, ‘अनि हामीले बाध्य भएर आजबाट विद्यालय बन्द गर्राका हौँ ।’ ‘दुई तीन दिन विद्यालय बन्द गराएर विद्यालय शान्ति क्षेत्रमा प्रहार हुँदैन,’ उनले भने, ‘सरकारको नीति नियम, सर्वोच्च अदातलको आदेश नमान्नेविरुद्ध हाम्रो बन्द हो ।’

जेठ ७ गते अखिल क्रान्तिकारी, प्याब्सन, एन प्याब्सन र शिक्षा विभाग बीच वृद्धि गरिएको शुल्क निजी विद्यालयले फिर्ता गर्ने र आइन्दा शुल्क नबढाउने सहमित भएको थियो । क्रान्तिकारीले शुल्क फिर्ताको माग गदै मंगलबार र बुधबार उपत्यकाका करिव ३ सय विद्यालयको लेखा शाखामा तालाबन्दी समेत गरेका थिए । क्रान्तिकारीका कोषाध्यक्ष लालबहादुर तामाङले दसैँ अगाडि शुल्क फिर्ता नगरे थप शसक्त आन्दोलन गर्ने जानकारी गराए ।
बिहीबार अखिल क्रान्तिकारी, शिक्षा विभाग, अभिभावक संघ र प्याब्सनबीच विद्यालय बन्द नगर्ने भन्ने बिषयमा वार्ता भए पनि सहमति हुन सकेन । कोषाध्यक्ष तामाङले शुल्क फिर्ता नगरेसम्म वार्तामा बस्नुको औचित्य नभएको बताए । ‘सहमति कार्यन्वयन गरे हामी विद्यालय बन्द गर्दैनौ,’ उनले भने, ‘तर सहमति कार्यन्वयन नगर्नेसँग वार्ता बस्नुको कुनै औचित्य छैन ।’