स्कटल्याड स्वतन्त्र नहुने, बेलायतको ३०७ बर्ष लामो एकता कायम


लण्डन
स्कटल्याण्डका बहुमत जनता संयुक्त अधिराज्यमै रहने पक्षमा उभिएका छन्। मतपरिणाम अनुसार लगभग पचपन्न प्रतिशत स्कटिसले स्वतन्त्रतालाई अस्वीकार गरेका छन्।
स्वतन्त्रता हुँदैन भन्ने पक्षले ५५ प्रतिशत मत पाएको छ र हुन्छ भन्ने पक्षले ४५ प्रतिशतमा नै चित्त बुझाउनुपर्ने भएको छ। बिबिसीका अनुसार ३२ वटै सम्पूर्ण स्थानीय निकायको नतिजा अनुसार स्वतन्त्रता हुँदैन भन्ने पक्षमा २० लाख १ हजार ९ सय २६ मत परेको छ। स्कटल्याण्डलाई अलग्गै देश बनाउनुपर्छ भन्ने पक्षमा जम्मा १६ लाख १७ हजार ९ सय ८९ मत खसेको छ।
सबभन्दा ठूलो शहर ग्लास्गोले स्वतन्त्रताको पक्षमा मत दिए पनि अधिकांश ठाउँमा स्कटल्यान्डवादीहरु हारेका छन्
नतिजा पछि स्वतन्त्रताको बिपक्षमा वकालत गर्दै आएका बेलायती प्रधानमन्त्री डेबिड क्यारुमले खुशी ब्यक्त गरेका छन्। नतिजाले हामी सबै एक छौ भन्ने सन्देश दिएको बताएका छन् । तर स्कटिस नेशनल पार्टीकी उपनेता निकोला स्टर्जीनले झिनो मततान्तरले पछि पर्नुपर्दा आफूलाई गम्भिर निराशा भएको बताएकी छन्।
जनमत संग्रहमा स्वतन्त्रताको बिपक्षमा भोट आएपछि स्कटल्याण्ड र वेलायतका अन्य राज्यबीचको ३०७ बर्ष लामो एकता कायम रहेको छ।