पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत अधिकारीको सरुवा


पोखरा ,असोज ३- पोखरा उपमहानगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत झलकराम अधिकारीको सरुवा भएको छ । अधिकारीको धनुषा जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीका रुपमा सरुवा भएको हो । पोखरामा दुई बर्ष भन्दा बढी बसेका अधिकारीले पोखरावासीलाई चिनाउने गरी केही कामहरु समेत गरेका छन् ।
अधिकारीले पोखरेलीलाई चिनाउने गरी फुटपाथ व्यवस्थापनमा सवैभन्दा ठुलो सफलता पाएका थिए । पोखराका सडकमा पैदलयात्रीलाई समेत सास्ती हुनेगरी अव्यवस्थित रुपमा रहेको फुटपाथलाई व्यवस्थीत गरेर अधिकारीले पोखरेलीको विश्वास जितेका थिए । यस्तै उनले योजना संचालनमा जनसहभागितालाई प्राथमिकता दिदै स्थलगत रुपमा योजना स्विकृत गरी नयाँ लागत सहभागीतालाई प्रोत्साहन गरेका थिए ।
उपमहानगरको कार्यकारी भएर आउँदा अस्तव्यस्त बनेको कर्मचारी प्रशासनलाई उनले चुस्त वनाएका छन् । झण्डै ५० भन्दा वढी दरवन्दी कटौती गरी कार्यालय सुधारको थालनी गरेका अधिकारीले कार्यालयमा विद्युतीय हाजिरी, पोशाक अनिवार्य, सिसि टिभिका माध्यमबाट कर्मचारी प्रशासनलाई नियन्त्रण गरेका थिए ।

कार्यकारी अधिकारीले नगरपालिकाका कर्मचारीहरुकै झण्डै करोडको हाराहारीमा रहेको पेश्कीलाई शुन्यमा झार्न विशेष अभियाननै संचालन गरेका थिए । यसैगरी उनले राजश्व प्रशासनलाई कडा बनाउँदै झण्डै लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गर्न समेत सफल भएका थिए । यस्तै उनले जाँदा जाँदै पोखरालाई सोलाका माध्यमबाट उज्यालो बनाएर गएका छन् । अधिकारी केही कुरामा विवादमा समेत आएका थिए । पोखराको सवैभन्दा पुरानो सभाहल नीजिक्षेलाई संचालन गर्न दिने तथा सडक व्यवस्थापन, नक्सा पास तथा केही कार्यहरुमा विवादमा परेपनि उनले आफ्नो बसाईलाई उपलब्धी मुलक वनाएर जाने भएका छन् । अधिकारीकाे पाेखराकाे लामाे बसार्इ त्यही भित्रका केही कर्मचारीका लागि टाउँकाे दुखार्इ बनेकाे थियाे । ति कर्मचारीहरुले बिचमा सरुवाकाे लविङ समेत गरेका थिए ।

अधिकारीका ठाउँमा गोरखा जिल्ला विकास समितिको कार्यालयमा रहेका महेश बराल आउने नगरपालिका श्रोतले जानकारी दिएको छ । अधिकारी सरुवा भएर पुगेको ठाउँ धनुषा जिल्ला खुल्ला दिशामुक्त जिल्ला बनाउन अभियानमा लागेको छ । अधिकारीका लागि यो भने निकै चुनौतीपूर्ण काम हुनेछ ।