काँग्रेस मन्त्रीको पद खुस्किने भएपछि…


काठमाडौं, २ असोज

प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गर्न मौखिक निर्देशन दिएपछि काँग्रेसका केही मन्त्रीको बुधबार निकै दौडधुप देखियो । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री कोइरालाले आफ्नै पार्टीबाट मन्त्री बनेका संचारमन्त्री डा. मिनेन्द्र रिजाल, शिक्षा मन्त्री चित्रलेखा यादव र सहरी विकास मन्त्री नारायण खड्काको राजीनामा मागेपछि पद जोगाउन उनीहरुले दौडधुप गरेका हुन् ।
शिक्षामन्त्री यादव पद् जोगाइदिन अनुरोध गर्दै बुधबार बिहानै वरिष्ठ नेता शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेकी थिइन्। देउवाले पार्टी सभापति समेत रहेको प्रधानमन्त्री कोइरालालाई टेलिफोन गरी पुनर्विचार गर्न आग्रह गरेका थिए । यादव देउवाकै कोटामा मन्त्री बनेकी थिइन् ।
यता, सञ्चार मन्त्री रिजाल भने प्रधानमन्त्री कोइराला निकटका नेतालाई आफ्नो पक्षमा लबिंग गरिदिन आग्रह गरिरहेका छन् । उनी बुधबार बिहानै कृष्णप्रसाद सिटौलाको निवास पुगेका थिए । महामन्त्री सिटौलाकै सिफारिसमा मन्त्री बनेका रिजालले उनीमार्फत नै पद जोगाउन पहल गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले साझेदार एमालेसँगको सहमतिमा बिहीबार दिउँसोसम्म पाँच नयाँ मन्त्री थप्ने तयारी गरेका छन् । काँग्रेसबाट तीन, एमालेबाट दुई जना मन्त्री तथा केही राज्यमन्त्री थपिने सम्भावना छ ।
प्रधानमन्त्री कोइराला शुक्रबार अमेरिका भ्रमणमा जान लागेकाले त्यसअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री कोइरालाले बिहीबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
काँग्रेसबाट आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू र अर्जुननरसिंह केसी मन्त्री बन्ने सम्भावना छ । मन्त्रिपरिषदमा अहिले चार राजनीतिक दलका २२ पूर्ण र २ राज्यमन्त्री गरी २४ सदस्य छन्। साना दललाई दिने भनिएको चार वटा मन्त्रालयमध्ये प्रधानमन्त्रीले आफैले तीन र कानुनमन्त्रीले थप एक मन्त्रालय हेरिरहेका छन् ।