पश्चिमाञ्चलमा जवरजस्ती करणीका घटना बढ्दै, कास्की उच्च जवरजस्ती करणी जिल्लाको सूचीमा


पुरुषोत्तम सुनार
पोखरा, १ असोज

पश्चिमाञ्चल क्षेत्रमा जवरजस्ती करणीका घटना बढेका छन् । क्षेत्रीय प्रहरी कार्यालय पोखराले राखेको गत तीन वर्षको रिपोर्टमा जवरजस्ती करणीका मुद्धा बढी देखिएको हो । ‘हामीले वि.सं. २०६८ साल देखि राखेको तथ्याङकमा ९० जना जवरजस्तीकरणीको सिकार बनेको देखिन्छ,’ पश्मिाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक बम बहादुर भण्डारीले भने, ‘ ७१ सालमा १ सय ६३ जना यसबाट पीडित बनेको अवस्था छ । तुलनात्मक रुपमा यस्ता घटना बढेको छ ।
जवरजस्तीकरणीको मुद्धालाई न्यूनिकरण गर्न प्रहरीले सक्रियताका साथ काम पनि गरिरहेको छ ।’ सामाजिक अपराधका रुपमा रहेका यस्ता कार्य शान्ति सुरक्षामा चूनौतीका रुपमा खडा भएको देखिन्छ । खास गरी जवरजस्ती करणीको घटना कास्कीमा बढी देखिन्छ । तुलनात्मक रुपमा हेर्दा कास्कीमा जवरजस्ती करणीको सबै भन्दा बढी ३० वटा घटना दर्ता भएको छ । त्यस्तै रुपन्देहीमा २५, नवलपरासीमा १९–१९ वटा घटना भएका छन् । यस हिसावले हेर्दा कास्की धेरै जवरजस्तीकरणी हुने प्रमुख जिल्लाको रुपमा खडा भएको छ । यसले पनि महिला हिंसाका घटना बढिरहेको पाउन सकिन्छ ।
प्रहरीले गरेको महिला तथा बालबालिका विरुद्धको अपराध विश्लेषणमा मानव बेचविखन तथा ओसार पोसारका घटना पनि दोब्बर बढी देखाएको छ । आर्थिक वर्ष २०६८–६९ मा १८ जना रहेकोमा आ.व ७०–७१ मा ३६ जना बेचबिखनमा परेका छन्् । प्रहरीको रिपोटमा महिला हिँसाका घटनाहरु बढेको देखाए पनि डाका र लागुपदार्थ कारोबार घटेको देखिन्छ । यस मानेमा प्रहरीले डाका र लागुऔषध कारोवार विरुद्धमा चलाएको अप्रेशन सफल भएको मान्न सकिन्छ । गत वर्षको आँकडा हेर्दा लागुपदार्थ कारोबारका ४ सय ४६ मुद्धा दर्ता भएका रहेछन भने यस बर्ष ४ सय १६ मुद्धा मात्र दर्ता भएको छ ।
क्षेत्रीय प्रहरी कार्यालयले गरेको अपराध विश्लेषणमा सार्वजनीक अपराधको घटना पनि बढी देखिएको छ । ‘गत बर्षको तुलनामा सार्वजनीक अपराधका घटना बढी देखिएको छ,’ कार्यालयका प्रमख भण्डारीले भने, ‘ प्रत्येक वर्ष २– ३ सयको संख्यामा अपराध बढेको अवस्था छ । यो जनसंख्या वृद्धिका कारण पनि बढदै गएको हुन सक्छ । तर हामीले अपराध नियन्त्रणमा शुन्य सहनशील्ताको सिद्धान्तलाई आधार मानेर कारवाही प्रकुया बढाएका छौं । हामा्रे चाहना भनेको समाजमा शान्ति सुरक्षा स्थापना गर्नु हो ।’
पछिल्लो समय समाजमा विकृती र विसंगतीक घटनाहरु छिटफुट बढेको देखिन्छ । शान्ति सुरक्षाको अवस्थालाई सुदृढ गर्न प्रहरी संगठन पनि निरन्तर लागेका छन् । तर अपराधका घटना बढ्नु भनेको समाज र राष्ट्रको विकासमा असर पर्नु हो । विकासको गती धिमा हुनु हो । यसका लागि प्रहरी संगठनले आफूसँग भएका स्रोत र साधनको रचनात्मक रुपमा प्रयोग गरेर जनतासँगको सहकार्यमा जुट्दै न्यूनिकरण गर्ने पथमा जानुपर्छ । प्रहरीले सामाजिक अपराधका घटना न्यूनिकरणमा धेरै काम गरेको छ तर गर्नुपर्ने जती भएको अवस्था भने देखिदैन् । गुण्डागर्दी र जवरजस्ती करणीको मुद्धा मात्र नभएर समाजलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी दतचित्र भएर लाग्नु समयको माग हो ।