यातायात कार्यालयमा अख्तियारको छापा


माधव बराल
पोखरा, ३१ भदौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरो गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा आज छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियार कार्यालय पोखराका लेखा अधिकृत तोयनाथ शर्माको नेतृत्वमा गएको टोलिले सार्वजनिक भाडाका ‘ज’ प्रकृतिका सवारी सधान दर्ता लगायतका काजगपत्र नियन्त्रणमा लिएको हो ।

यातायात व्यवस्था कार्यालय पोखरामा सार्वजनिक भाडाका “ज” प्रकृतिका सवारी साधन दर्ता गर्दा आर्थिक प्रलोभनमा परी नियम विपरीत दर्ता गरेको भन्ने उजुरीका आधारमा सवारी दर्ता प्रक्रियासँग सम्वन्धित सम्पूण कागजात नियन्त्रणमा लिई छानविन शुरु गरिएको प्रवक्ता सरीता खतिवडाले जानकारी दिनुभयो ।

ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष गान्धीराज गिरी लगायतको टिमले यातायात व्यवस्था कार्यालयसँग मिलेर किर्ते कागज बनाइ नियम विपरित ६३ वटा नयाँ ट्याक्सी दर्ता गरेर प्रति ट्याक्सी ३ लाख ३० हाजर संकलन गरी २ करोड १२ लाख भष्टाचार गरेको भन्दै सत्यतथ्य छानविन गर्न अख्तियारमा परेको उजुरीका आधारमा दर्ता सम्वन्धि कागजपत्र नियन्त्रणमा लिएर कार्यालयले छानविन सुरु गरेको हो ।

२०६४ देखि अहिलेसम्म लगातार अध्यक्ष रहेका गिरीले ४ सय पुराना गाडी विस्थापन गरी त्यति नै गाडी थप गरेर प्रति गाडी ३ लाख ३० हजारका दरले रकम अशुली गरेको आरोप उजुरीमा छ भने गिरीले ७ वर्षमा करिव १३ करोड भष्टाचार गरेको पनि उजुरीमा उल्लेख छ ।

तर, अध्यक्ष गिरीले भने हालै भएको समितिको निर्वाचनमा पराजित भएकाहरुले अनावश्यक लाञ्छना मात्रै लगाएकोे दावी गर्नुभयो ।उहाँले साधारण सभाले खर्च अनुमोदन गरिसकेकोले आफुले कुनै अनियमितता नगरेको जिकिर गर्दै आउनुभएको छ ।अख्तियार कार्यालयसहित क्षेत्रीय प्रशासन र जिल्ला प्रशासन कार्यालयमा पनि ट्याक्सी व्यवसाय समितिका अध्यक्ष गिरी विरुद्ध उजुरी परेको छ ।