प्रेस युनियन कास्कीद्वारा नवनिर्वाचित अध्यक्ष सहितका पदाधिकारीलाई स्वागत तथा सम्मान


पोखरा, २७ भदौ
नेपाल प्रेस युनियन कास्कीले पोखरा सम्पन्न आठौ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष सहित कास्कीबाट निर्वाचित पदाधिकारी एवं सदस्यलाई पोखरामा बिहीबार स्वागत तथा सम्मान गरेको छ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बद्रि सिग्देल सहित कास्कीबाट निर्वाचित उपाध्यक्ष रमेश पौडेल, केन्द्रीय सदस्य ऋषि पौडेल र गण्डकी अञ्चल संयोजक टंक अधिकारीलाई स्वागत तथा सम्मान गरिएको प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए। उनीहरुलाई महाधिवेशन मूल आयोजक समितिका संयोजक गङ्गाधर पराजुली, नेपाल पत्रकार महासङ्घ कास्कीका सल्लाहाकार राजबहादुर गुरुङ र नेपाल प्रेस युनियन कास्कीका सभापति शिरोमणि बरालले माला लगाइदिएर स्वागत तथा सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बद्रि सिग्देलले लोकतान्त्रिक आन्दोलनलाई आत्मसाथगर्दै श्रमजिवी पत्रकारको हित र व्यवसायीक पत्रकारिताको विकासमा लाग्ने बताए। उनले प्रेस युनियनभित्र कुनै गुट÷उपगुट हावी हुन नदिने बताउँदै नेपाल पत्रकार महासङ्घको आउँदो महाधिवेशनमा युनियन पक्षधरलाई विजयी गराउने गरी काम गर्ने अठोट व्यत्त गरे।
अध्यक्ष सिग्देलले आफ्नो जित लोकतन्त्रवादी सवै पत्रकारको जित भएकोभन्दै सवैलाई समेटेर अघि बढ्ने प्रतिवद्वता व्यत्त गरे। महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं निवर्तमान उपाध्यक्ष गङ्गाधर पराजुलीले पत्रकार र पार्टी नेताहरुसँग समन्वय गरी सवैलाई समेट्दै अघि बढ्न सुझाव दिए। नवनिर्वाचित उपाध्यक्ष रमेश पौडेलले जितलाई उन्मादका रुपमा नभई जिम्मेबारीका रुपमा लिने बताए।
नेपाली काङ्ग्रेस प्रचार विभागका सदस्य एवं महाधिवेशन सङ्घसंस्था समन्वय समितिका संयोजक राजबहादुर गुरुङले महाधिवेशनका क्रममा भएका तीता÷मिठा कुरालाई विर्सेर युनियनलाई संगठित बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य ऋषि पौडेल र गण्डकी अञ्चल संयोजक टङ्क अधिकारीले बोलेका थिए।
नेपाल प्रेस युनियन कास्कीका सभापति शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत, सचिव प्रकाशचन्द्र सापकोटाले धन्यवाद ज्ञापन र सहसचिव लोकेन्द्र ढकालले कार्यक्रम संचालन गरेका थिए।