राष्ट्रसंघको महासभामा प्रधानमन्त्री कोइरालाले सम्बोधन गर्ने


काठमाडौं–भदौ २७ –

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री सुशील कोइरालाले असोज १० गते सम्बोधन गर्ने भएका छन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले महासभामा भाग लिन न्युयोर्क जाने २२ सदस्यीय टोलीको टुंगो लगाएको हो।

टोलीमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट‍्रका कामु सचिव शंकर बैरागी, युएन महाशाखा प्रमुख दिपक धिताल, महाशाखाकी उपसचिव रीता धिताल, चिफ अफ प्रोटोकल कालीप्रसाद पोखरेल, युएनका लागि न्युयोर्कस्थित नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, उपस्थायी प्रतिनिधि सेवा लम्साललगायत रहनेछन्। दुई सुरक्षाकर्मी र एक पत्रकार पनि टोलीमा रहेकाे स्रोतले जनाएको छ।
प्रधानमन्त्री महासभाका लागि असोज ३ गते प्रस्थान गर्नेछन्। उनले असोज ७ गते जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागिता जनाउनेछन् भने १७ गते स्वेदश फर्कने कार्यक्रम छ।
बैठकले नेपाल प्रहरीको प्राविधिकतर्फका डिआइजी सुमनशमशेर जबरालाई एआइजीमा बढुवासमेत गरेको छ। त्यसैगरी १४ अञ्चल अस्पताल विकास समितिहरूमा अध्यक्षसमेत नियुक्त गरेको आपूर्तिमन्त्री सुनीलबहादुर थापाले जनाए।