राजनीतिक सम्मेलन अन्यौलमा,दशै पछि धकेलिने संभावना


काठमाडौं, भाद्र २७ – प्रमुख राजनीतिक दल कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादीको बिहीबार राजनीतिक सम्मेलन गर्न बसेको बैठक मितिमा कुरा नमिल्दा बिनानिश्कर्ष टुंगिएको छ । सहमति नभएपछि सम्मेलनको मिति दशै पछि धकेलिने संभावना बढेको छ । राजनीतिक सम्मेलन भदौ ३१ कि असोज १ गते गर्नेबारे दलहरुबीच मतभेद भएको थियो । कांग्रेसले प्रधानमन्त्री सुशील कोइराला अमेरिका जानुअघि भदौ ३१ गते र नेकपा-माओवादीले असोज १ गते राजनीतिक सम्मेलन गर्ने प्रस्ताव गरेको थियो । कोइराला असोज ३ गते उपचारका लागि अमेरिका जादैछन् ।

बैठकमा माओवादी नेता मोहन वैद्यले सुरुमा भदौ ३१ गते गोलमेच सम्मेलन गर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्री सुशील कोइरालाले २९ गते गर्ने प्रस्ताव राखेपछि एमालेले २९ गतेलाई समर्थन जनाएको थियो । केहीबेरको बहसपछि प्रचण्डले प्रधानमन्त्रीलाई एकान्तमा लगेर सम्झाए । त्यसपछि प्रधानमन्त्रीले ३१ गते गर्न सकिने बताए । तर, केहीबेर अघिसम्म ३१ गते गरौं भनिरहेका वैद्य पक्षका नेताहरुले हाम्रा साथीहरु मानेनन्, असोज १ गते गरौं भन्दै आफैंले राखेको ३१ गतेको अडानबाट पछि हटेको बैठकमा सहभागी एक नेताले बताए ।

तीन दिनअघि बसेको कार्यदलको बैठकले मितिबारे सहमति गर्न नसकेपछि शीर्ष नेतालाई टुंगो लगाउन भनेको थियो । तर, विहीबार शीर्ष नेताहरुको बैठकले फेरि मिति टंुगो लगाउने जिम्मा ८ सदस्यीय कार्यदललाई नै सुम्पेको छ ।