कास्कीलाई लागु औषध मुक्त क्षेत्र बनाउन बिशेष अभियान शुरु


पोखरा,भदौ २६ –

कास्की जिल्लालाई लागु औषध मुक्त क्षेत्र बनाउने उद्देश्यले १५ दिने बिशेष अभियान शुरु गरिएको छ । लागु औषध मुक्त क्षेत्र अभियानको बुधबार क्षेत्रिय प्रशासक दिनेश थपलियाले पोखराको चिप्लेढुंगाबाट शुभारंभ गर्नु भएको हो ।

प्रशासक थपलियाले प्ले काडैमा नो ड्रग लेखी अभियान तथा जनचेतनामुलक र्यालीको शुभारंभ गर्नु भयो । र्याली पछि आयोजित सभालाई सम्वोधन गर्दै, प्रशासक थपलियाले लागु औषध नियन्त्रण अभियान सरकारको एकल प्रयासले मात्र संभव नहुने भएकाले सवैको सहयोग हुनु पर्नेमा जोड दिनु भयो । सहभागीलाई स्वागत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामाले पनि सवैको सहयोग र सहकार्यमा मात्र लागु औषध नियन्त्रण संभव हुने विचार व्यक्त गर्नु भएको थियो ।
चिप्लेढुंगाबाट शुरु भएको र्याली पोखरा सभागृहमा पुगी सभामा परिणत भएको थियो । र्यालीमा प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीबल मुक्तिनाथ बाहिनीका बाहिनी पति, अंचल प्रहरी कार्यालय गण्डकीका प्रमुख, राष्ट्रिय अनुसन्धान बिभागका क्षेत्रीय प्रमुख,पोखरा स्थित संघ संस्था,सरकारी तथा निजी विद्यालयका शिक्षक तथा विद्यार्थी,पत्रकार, लागू औषध नियन्त्रणको क्षेत्रमा कृयाशिल संघसंस्था, व्यवसायीहरु, आमा समुह, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पोखरा स्थित कार्यालयका अधिकृत तथा जवानहरु गरी झण्डै तीन हजारके हाराहारीमा सहभागिता रहेको थियो ।
कास्की जिल्लालाई लागू औषध मुक्त क्षेत्र बनाउने प्रयास स्वरुप जिल्ला प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रणको क्षेत्रमा कृयासिल बिभिन्न संघसंस्था,पत्रकार महासंघ कास्की तथा लागू औषध नियन्त्रण तथा समाज सुधार आमा समूह र कास्की जिल्लामा कृयासिल सामुदायिक सेवा केन्द्रहरुको संयुक्त आयोजनामा अभियान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।
अभियान अन्तर्गत दुर्व्यशनीहरुलाई परामर्श, घरदैलो कार्यक्रम, पर्चा पम्प्लेट वितरण, तालीम प्राप्त कुकुर सहित चेकजाँच, स्कुल सम्पर्क कार्यक्रम,टोल टोलमा चेतनामुलक –याली, अन्तर्कृया कार्यक्रमहरु संचालन गरिने छ ।