पोखरा उद्योग बाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई लेखनाथमा स्वागत


२४ भदौ÷लेखनाथ

पोखरा उपत्यकाको विकासका लागि लेखनाथ र पोखरा उद्योग बाणिज्य संघले एकिकृत योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिइएको छ ।

पोखरा उद्योग बाणिज्य संघको ३० औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको स्वागत तथा सम्मानमा लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले दुवै संघले सहकार्य गरेर अघि वढ्दा सफलता मिल्ने विश्वास व्यक्त गरिएको हो ।

कार्यक्रममा वोल्दै पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विन्दु कुमार थापाले लेखनाथ संँग पर्यटन र आधुनिक शहर निर्माणको क्षेत्रमा सहकार्य गरेर अघि वढ्न इच्छुक रहेको उल्लेख गर्नु भयो । लेखनाथसँगको सम्वन्धलाई विगतको भन्दा सुदृढ गरेर अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्दै, सहयोगको अपेक्षा राखेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले पोखरालाई महानगर बनाउने गरी आवश्यक पूर्वाधारमा दुवै संघको सहकार्य हुनु पर्नेमा जोड दिनु भयो । उहाँले लेखनाथमा लगानीको बातावरण रहेकाले उद्योग व्यवसायमा पूँजि विस्तार गर्न आग्रह गर्नु भयो ।

पोखरा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष एवं पश्चिमाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष संजिवहादुर कोइरालाले आफु पराजित भए पनि थापाको टिमलाई पूर्ण सहयोग रहने उल्लेख गर्नु भयो । कोइरालाले पश्चिमाञ्चलका व्यवसायीहरुका समस्याहरुलाई हल गर्नका लागि आफुले नेपाल उद्योग बाणिज्य महासंघसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष सुमन भट्टराईले आर्थिक समृद्धीका लागि लेखनाथ र पोखराको एजेण्डा एउटै हुनु पर्नेमा जोड दिनु भयो ।

लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले नीजि क्षेत्रलाई राज्यले समेत विश्वास गरेको अवस्थामा त्यसको सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले लेखनाथ उदाउँदो शहरका रुपमा विकास भइरहेकाले दुवै संघको साझा अवधारणाका अघि वढ्नु पर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रम संघका अध्यक्ष गिरीको अध्यक्षतमा कार्यक्रम भएको थियो ।