एमाओवादी कास्कीमा दुईतिर स्मृति सभा भट्टराई पक्षले ब्यानरबाटै प्रचण्डको फोटो हटायो


पोखरा,२४ भाद्र

एमाओवादी पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डाक्टर बाबुराम भट्टराई मिलिसकेको भनेर प्रचारबाजी गरिएपनि कास्की भने अब औपचारीक रुपमै दुई समूहमा बिभाजित भएको छ । सोमबार पोखरामा आयोजित स्मृतिसभालाई उनिहरुले दुई भिन्दा भिन्दै स्थानमा मनाएर यसको औचित्य पुष्टिसमेत गरेका छन् ।

प्रचण्ड पक्षले पार्टी कार्यालयमा र समानान्तर रुपमा पार्टी सञ्चालन गर्दै आएको भट्टराई पक्षले होटल दिपसागरमा बासु स्मृति दिवस मनाएको हो ।२०५६ भाद्र २३ गते गोर्खाको गाँखुमा राज्यद्धारा हत्या गरिएका तात्कालिन नेकपा माओवादीको पोलिट्ब्युरोका बैकल्पिक सदस्य शुरेश वाग्ले ‘बासु’ र भिमसेन पोख्रेलको स्मृति सभा एमाओवादी कास्कीले छुट्टाछुट्टै मनाएका हुन् ।

कार्यक्रमको आयोजकमा दुबैतिर एमाओवादी कास्कीको ब्यानर थियो भने प्रमुख अतिथि पनि केन्द्रिय नेता नै थिए । भट्टराई पक्षको कार्यक्रमलाई एमाओवादी केन्द्रिय सदस्य कृष्ण शर्माले सम्बोधन गर्नुभएको थियो भने प्रचण्ड पक्षको कार्यक्रममा सल्लाहकार कोमल बरालले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको आयोजक एउटै पार्टी भएपनि ब्यानर भने फरक थियो ।प्रचण्डपक्षले अध्यक्ष प्रचण्डको फोटो समेत ब्यानरमा राखेपनि भट्टराईपक्षको कार्यक्रममा टांगिएको ब्यानरमा माक्र्स,एंगेल्स,लेलिन,स्टालिन र माओको मात्र फोटो थियो ।

एमाओवादी कास्कीमा अध्यक्ष दिपक कोईराला रुपकले प्रचण्डपक्षको नेतृत्व गरेका छन् भने गुप्तबहादुर हमाल सन्देशले भट्टराईपक्षको नेतृत्व गर्दै आएका छन् । पार्टी अध्यक्ष प्रचण्ड अघिल्लो साता पोखरा आउँदा पार्टीको केन्द्रिय समिति बैठक अघि दुबै पक्षले आ आफ्ना कार्यक्रलाई स्थगित गर्ने भन्ने सर्कुलर पढेर सुनाईएको भएपनि संस्थापन भनिएको प्रचण्ड पक्षबाट एकपक्षीय रुपमा कार्यक्रम अगाडि बढाउन थालेपछी आफुहरुले पनि पार्टी रुपान्तरणका लागि कार्यक्रमहरु गर्नु परेको भट्टराईपक्षका नेताहरुले बताएका छन् ।

।‘संस्थापनको नाममा पेलेर जान थालेपछी र अध्यक्षले नै भनेको कुरा समेत नमानेपछी हामीले पनि कार्यक्रमहरु अगाडी बढाएका हौं’ भट्टराईपक्षीय नेता गुप्त हमाल शन्देशले भन्नुभयो ‘पार्टीकै कार्यक्रम हुँदा जानकारी नदिने, बेवास्ता गर्ने र फरकमतको सम्मान नहुने भएपछी हामी पनि उनिहरुको भन्दा राम्रो ढंगले पार्टी संचालन गर्न सक्छौं भनेर कार्यक्रम गरेका हौं ।’ भट्टराईपक्षलाई जानकारी नदिई प्रचण्डपक्षले शिक्षक संगठनको भेला,क्षेत्रिय बैठक,स्मृतिसभा जस्ता कार्यक्रम गरेको भन्दै सो पक्षले अब पार्टीको सबै संरचना निर्माण गरी पार्टी रुपान्तरणसंगै नयाँशक्तिको रुपमा जनतालाई जानकारी गराउने बताएको छ ।